गण्डकी खेलकुद परिषद्ले वक्तृत्वकला प्रतियोगिता गर्ने

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


पोखरा, २७ जेठ । प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश माविस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जुन २३ (अन्तर्राष्ट्रिय ओलम्पिक दिवस) अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको परिषदले जनाएको छ ।

कोभिड–१९ महामारीसँगै सम्पूर्ण खेलकुद गतिविधीहरु ठप्प रहेको अवस्थामा प्रविधि सदुपयोग गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयमा आयोजना हुन लागेको उक्त प्रतियोगिता गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालको समेत सहयोग र सहकार्य रहने सदस्य सचिव गुरुङले जानकारी दिए ।

जुम मार्फत हुने प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र चौथो स्थान सम्म आउने प्रतियोगीहरुलाई क्रमशः १५, १०, ७, ५ हजारका साथमा मेडल र प्रमाणपत्र तथा पाँचौदेखि १० औं स्थानसम्म हुनेले नगद २–२ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउने परिषदका सदस्य केशव पाठकले बताए । सोको लागि पाठकको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ।