प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घोषणा

-


     सफल आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित


काठमाडौं, ३१ भदौ । प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई दिने निर्णय गरेको छ । काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका बद्रीविनोद खनाल ‘प्रतीक’ लाई दिने निर्णय गरेको छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाईम्स दैनिक (उज्वलशर्मा) लाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ । त्यसैगरी बागलुङका विमल गौतम र दाङका पत्रकार दुर्गालाल केसीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको बोर्ड बैठकले नेपाली पत्रकारितका पुराना, पाका र अनुभवी पत्रकार कोइरालालाई यस पटक गोपालदास पत्रकारिता पुरस्कारका लागि छनौट गरेको हो ।

कोइरालाले विकास पत्रकारितामा विख्यात म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । नेपाली पत्रकारितामा लामो योगदान पुर्‍याएका कोइराला अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो छवि बनाएका थोरै नेपाली पत्रकारमा पर्छन् ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका लक्की चौधरीलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार माधव नेपाल, विन्दुकान्त घिमिरे, बविन शर्मा, गोविन्द चौलागाई र सुशील अर्याललाई दिने निर्णय भएको छ ।

काउन्सिलको स्थापना दिवसको अवसरमा असोज ६ गते काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।