कोपनहेगनमा “हरि न्यौपाने जिताऔं”अभियान, नेपाली उम्मेदवारलाई महिनैभरि मतदान

-



     प्रकाश सापकोटा    
     असाेज ३१ गते २०७८ मा प्रकाशित



डेनमार्क,३१ असाेज। कोपनहेगनको भित्री सहर नरेब्रोमा आजकल हरेक दिन २०-२५ जना नेपालीलाई ‘कता गएर आउनु भो?’ भनी सोध्दा जवाफ आउँछ- भोट हालेर आएको !

दिनदिनै जो भेट्यो उसैले ‘भोट हालेर आएको’ भन्दा नौलो मान्छेलाई भए अनौठो लाग्न सक्छ। तर डेनमार्कको स्थानीय निर्वाचनमा सम्बन्धित क्षेत्रका तोकिएको केन्द्रमा गई मतदान गर्ने एक महिना लामो अवधि दिइएको हुन्छ। त्यही क्रम चलिरहेको छ यतिबेला । छैन त गजब !
यसपाली अक्टोबर ५ तारिख देखि डेनमार्कमा स्थानीय निर्वाचनको लागि मतदान शुरु भएको छ। यो क्रम नोभेम्बर १२ सम्म चल्नेछ र आफूलाई पायक पर्ने तोकिएका केन्द्रमा गई मताधिकार प्रयोग गर्न सकिन्छ। 

प्रत्येक चार बर्षमा हुने डेनिस स्थानीय निर्वाचन डेनमार्कमा बसोबास गर्ने नेपालीका लागि यसपाली खास किन छ भने नेपाली उम्मेदवार हरि न्यौपाने कोपनहेगन महानगरबाट नगर प्रतिनिधिका रुपमा चुनावी प्रतिस्पर्धामा छन्। हो, त्यही हुनाले कोपनहेगन सहरभित्र बसोबास गर्ने नेपाली अचेल नेपालको प्रतिनिधित्व गर्ने उनै हरि न्यौपानेलाई जिताउन सामूहिक ऐक्यवद्धता सहित लागिपरेका छन् । 

हरिले यो चुनाव जितेमा डेनमार्कको राजधानी अवस्थित महानगरमा एक नेपाली नगरसभाको निर्वाचित प्रतिनिधि बन्नेछन् र यो नेपालीका लागि एउटा गर्वको विषय हुनेछ। पहुँचमा पुगेपछि थप उनीबाट नेपालीका लागि हुनसक्ने सहयोगको पूर्ण अपेक्षा पनि नेपालीमा छ। तसर्थ ‘हरि न्यौपाने जिताऔं अभियान नै चलेको छ।

डेढ दशक अघि अध्ययनको सिलसिलामा चितवनबाट डेनमार्क हान्निएका हरिले पढाइ, काम, सामाजिक-सांस्कृतिक अतिरिक्त गतिविधि सँगसँगै राजनीतिलाई पनि साथै लिएर हिँडे। चार बर्ष पहिले अघिल्लो पटकको स्थानीय निर्वाचनमा पनि उम्मेदवारी दिएका उनले झिनो मत नपुग्दा जीत हासिल गर्न पाएनन्। तर त्यो पराजयले पाठ सिकायो।

यद्यपि उनको लगन र लोकप्रियताको कदर गरी उनी आबद्ध सोसियल डेमोक्र्याट्स पार्टीले उनलाई कोपनहेगन महानगरको क्षेत्रिय जिम्मेवारी सुम्पियो। हरि सो पार्टीभित्र आप्रवासीका पक्षमा फरक मत जाहेर गर्दै खरो प्रस्तुत हुने व्यक्तिमा चिनिन्छन् । अघिल्लो पटकको पराजयले त्यसताका भएका कमजोरी सच्याउन सिकाएको र सच्याउँदै अघि बढिएकाले पनि जितिन्छ भन्ने लागेको कुरा भेटमा हरिले बताए।

कोपनहेगनमा मतदान गर्दै एक नेपाली

अचेल धेरैजसो नरेब्रोहेलनको लाइब्रेरीमा भेटिने हरि मुस्कुराउँदै भन्छन्- कोपन्हेगनका नेपाली मतदाताको उत्साहजनक सहभागिताले यसपाली जित्ने आशालाई बलियो बनाउँदै छ। जितियो भने यो सम्पूर्ण नेपालीहरुको जीत हुनेछ। 

सोमवार देखि बिहिवार सम्म दिउसोको एक बजेबाट साँझको छ बजे सम्म तथा शुक्रवार र शनिवार बिहान एघार बजेबाट दिउसो तीन बजे सम्म नरेब्रोहालेन लाइब्रेरीमा भोट खसाल्न जाँदा प्राय: हरि त्यतै भेटिने छन्। भलाकुसारी र भए गुनासो पनि गर्न पनि पाइने छ। आइतवार भोटिंग बन्द छ। 

‘हरि जिताऔँ अभियान’मा प्रत्यक्ष खटिएका यमलाल सुवेदी, शिव कार्की, शैलु अधिकारी, मनिषा सिंह कोइराला, उमेश गिरी, कृष्णप्रसाद खनाल लगायतको सक्रिय सहयोग र सिंगो नेपाली समुदायको सदासयता प्रति आफू आभारी रहेको हरिले बताएका छन्। 

नोभेम्बर १२ भित्रै मतदान गरिदिन हरि कोपन्हेगनवासी नेपालीलाई अनुरोध पनि गरिरहेका छन्। त्यसो त, सो अवधि भित्र मतदान गर्न असमर्थहरुले नोभेम्बर १६ का दिन विद्यालयहरूमा स्थापना गरिने मतदान केन्द्रमा गई बिहान ८ बजेदेखि बेलुकी ८ बजेभित्र भोट हाल्न पाउँछन्। तर वालिग मतदाताको व्यस्ततालाई ध्यान दिएर एक दिन मात्रको मतदानले मौका नगुमोस् भनी दिइएको यो अवसर प्रयोग गर्दा मतदाता र प्रत्याशी दुवै थरीका लागि उचित देखिन्छ। नरेब्रोहेलनको लाइब्रेरीमा गएर मतदान गर्दा मतदानको प्रक्रियामा हुने द्विविधा अन्त्य गर्न सहयोगी नेपाली सहयोगकर्ता र धेरैजसो उम्मेदवार आफैँ उपस्थित हुने हुनाले पनि त्यहाँ गएरै भोट हाल्न मतदाताले रुचाएको पाइएको छ।

नेपालको राजनीतिले बिरक्तिएकाहरु र राजनीतिसँग कुनै साइनो गाँस्नेै नचाहनेहरू समेत मतदानमा सरिक भएका पाइएको छ। यसो किन भएको छ भने नेपाली समुदायमा हरिको बेग्लै पहिचान छ। डेनिस भाषा, पद्धति र समाजसँग राम्रो घुलमिल भएका उनी धेरैलाई काम लागेका छन् र काम लाग्ने मान्छे हुन्। आफैँ भन्छन्- म यस्तै छु र यस्तै हुनेछु, हारे पनि जिते पनि ! तर जित नेपाली समुदायको प्रतिष्ठासँग भने जोडिएको छ।