मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

-


     सफल आवाज    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


मनाङ, ४ कात्तिक । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ ।

सो चलचित्रमा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ । नेपालमा अमिताभ बच्चन भने आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । चार जनाको मित्रताकाे कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ ।

अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहेका छन् । बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारीदिए। चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन् ।

हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए। कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिने जनाएको उनले बताए।

जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए । यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।