पिएन क्याम्पसमा अनुसन्धानवृत्ति र विद्धतवृत्तिको घोषणा

-


     सफल आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित


पोखरा, २५ कार्तिक। पृथ्बीनारायण क्याम्पस पोखरामा नेपाली विषयमा एमए अध्ययन गर्ने ५ जनालाई अनुसन्धानवृत्ति र विद्यावारिधि गर्ने १ जना विद्यार्थीलाई विद्धतवृत्ति प्रदान गरिने भएको छ ।

नेपाली बिभाग पृथ्बीनारायण क्याम्पसको आयोजना र नेपाल मुक्तक प्रतिष्ठानको सह–आयोजनामा बिहीबार पोखरामा भएको अनुसन्धानवृत्ति घोषणा, मुक्तक विमर्श तथा पुस्तक हस्तान्तरण कार्यक्रममा सो घोषणा गरिएको हो ।

नेपाली बिषयमा एमए अध्ययन गर्ने र शोधपत्र लेख्ने ५ जना विद्यार्थीलाई २५ हजारका दरले अनुसन्धानवृत्ति र विद्यावारिधि गर्ने एक जना प्राध्यापकलाई ५० हजारको विद्धतवृत्ति प्रदान गरिने भएको हो । क्यामपसका पूर्ब प्राध्यापक डा.रुपक श्रेष्ठले सो रकमको घोषणा गरेका हुन् । प्राध्यापक श्रेष्ठ हाल बेलायतमा बसोवास गर्दै आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले पोखरामा २०३५ सालदेखि पोखरेली युवा सांस्कृतिक परिवारले टिकट काटेर मुक्तक सुन्ने परम्पराको थालनी गरेको स्मरण गराउँदै मुक्तक साहित्यको एक स्वतन्त्र विधा भएको बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले मुक्तकको उत्थान संगसंगै नेपाली साहित्यको उत्थानका लागि प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिवता व्यक्त गरे । सो अवसरमा विभिन्न साहित्यकारहरुले मुक्तकसमेत वाचन गरेका थिए ।

कार्यक्रमा बोल्दै क्याम्पसका नेपाली विभाग प्रमुख प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेले सहयोगका लागि धन्यवाद व्यक्त गरे । नेपाली साहित्यको उत्थानका लागि विभागले आगामी दिनमा पनि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दैं अघि बढने उनले बताए ।