अम्बिका-भागवत फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार गौतमलाई प्रदान गरिने

-


     सफल आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित


पोखरा, ६ मंसिर । अम्बिका–भागवत फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ ।
हरेक दुई–दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि २५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।

बीएड, एलएलबी, राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेका असफल गौतमका दर्जन कृति प्रकाशित भएका छन् । उनले झण्डै तीन दर्जन बढी कृतिको सम्पादन गरिसकेका छन् ।

उनका सबैका सारथि संगी (२०७७), सत्तलमा सिर्जना (गजलसङग्रह–२०७१),हाइकु : आलेख र अभिलेख (इतिहास–२०७०), नेपालका भाट जातिको अध्ययन (इतिहास–२०६९),दुर्गाबहादुर शाह बाबा : व्यक्तित्व र कृतित्व (समालोचना–२०६९), बिस्कुन (समालोचना–२०६८), सिलोक बन्दै छन् (मुक्तकसङ्ग्रह–२०६७), समसामयिक तीजे गीतसङ्ग्रह (२०६७), सङ्घर्षका पाइलाहरू (सामाजिक उपन्यास–२०६६), पीपलपाते ओठ (लोकदोहोरी एल्बम–२०६१), चट्टै कम्मरमा (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित रहेका छन् ।

झण्डै तीन दर्जन बढी कृतिका सम्पादक, चार शैक्षिक तथा सामाजिक कोषका संस्थापक उनी यस अघि सर्वोत्कृष्ट लोकगायन सम्मान (२०५३), उत्कृष्ट पटकथा लेखन सम्मान (२०५९), शारदा स्वर्ण सम्मान (२०६५), साहित्य सेवा सम्मान (२०६८), अम्बिका स्वर्ण सम्मान, नटराज कला सम्मान, अपाङ्गमैत्री पवित्र सेवा सम्मान, शुक्ला साहित्य सम्मान सहित ४१ वटा सम्मान तथा पुरस्कारबाट विभूषित भइसकेका छन् ।

दुई दर्जन संघसंस्थाका आजीवन सदस्य रहेर विभिन्न क्षेत्रमा योगदान दिएका असफल २०५८ सालदेखि पोखरामा रहेर भाषा साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा क्रियाशील रहेका छन् ।

उनी मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी र स्वतन्त्र पत्रकार संघ कास्कीको अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको महासचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको कोषाध्यक्ष, डागर स्मृति प्रतिष्ठानको सहसचिवलगायतका संस्थाका आवद्ध छन् ।

समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउण्डेशन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई सर्वसम्मत छनौट गरेको हो ।

शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकताको क्षेत्रमा लागिपरेको फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आवश्यक परेको ठाउँमा सहयोग, निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर गर्दै आएको फाउण्डेशनका सचिव देवी श्रेष्ठले बताएकी छन् ।

फाउण्डेशनले शान्ति माध्यमिक विद्यालय अर्मलाका ८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ । कोरोना महामारीको समयमा समस्यामा परेका विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न, स्वास्थ्य सामग्री, दुवै मृगौलाबाट पीडित भएका वरुण विकलाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । संस्थाले अहिलेसम्म दुुई हजारभन्दा बढी सीमान्तकृत समुदायका सदस्यहरुलाई सहयोग गरेको फाउण्डेशनकी कोषाध्यक्ष माधवी नेपाल थापाले जानकारी दिईन ।