सक्रियता बढाउदै गण्डकी प्रज्ञा प्रतिष्ठान, पौष महिनामा साहित्यका ६ वटा कार्यक्रम तय

-


     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित


पोखरा, २१ मंसिर । गण्डकी प्रज्ञा प्रतिष्ठान आफ्नो सक्रियता बढाउदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले धमाधम कार्यक्रमको आयोजना गरेर आफ्नो सक्रियता बढाउदै गएको हो । फलस्वरुप आगामी पुष महिनाको लागि मात्र ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

‘हामीले निरन्तर कार्यक्रम गरिरहेका छौं, केही महत्वपूर्ण कार्यक्रम पौष महिनामा गर्दैछौं, नाटक लेखन कार्यशाला, नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातीको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठी कार्यक्रम पौष महिनामा आयोजना गर्दैछौं’ सदस्य सचिव श्रेष्ठले भने । पौष महिनामानै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो श्रृखला आयोजना गरिनेछ । जुन कार्यक्रम पौष २३ गते हुने सदस्य सचिव श्रेष्ठले बताए।

नाटक लेखन कार्यशाला पौष १ गतेबाट पोखरामा आयोजना हुनेछ । ११ गतेसम्म निरन्तर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ । ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने आयोजकको तयारी छ । कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्नेछ । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर मंसिर २३ गते बेलुका ५ बजेसम्म पठाइसक्नुपर्ने आयोजकको भनाई छ ।

आवेदनमा परेका नाटकहरुमध्येबाट बढीमा ८ जना आवेदकलाई उत्कृष्टताको आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको यो कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिए। यो कार्यक्रमको अर्को आयोजक पोखरा प्रज्ञा प्रतिष्ठान हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुने कार्यशालामा पोखरा थिएटरले सहकार्य गरेको छ । कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नेछन् । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशालासमेत सम्पन्न गरेको थियो ।

यसैगरी पौष ४ गतेबाट ८ गतेसम्म स्याङजा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानले सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यशालामा २५ जनालाई सहभागी गराउने तयारी गरिएको कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिए।

स्थापित जाती विस्तापित भाषाको २ महिने कार्यशाला पौष १० गतेबाट हुनेछ । यो कार्यशाला गण्डकी प्रदेशका माग भएका जिल्लामा गरिनेछ ।

‘गण्डकी प्रदेश अन्र्तगतका ८४ जाती मध्ये सिरियल नम्बर १ देखि २० सम्मका २० जातीको अध्ययन गर्नेछौं । प्रत्येक जातीको ३ वटा संस्कृति तथा प्रत्येक जातीको ५ वटा बाजाको अध्ययन गरेर ती जाती संस्कृती र बाजाको बारेमा पुस्तक नै तयार पार्नेछौं’ सदस्य सचिव श्रेष्ठले बताए। यो अध्ययनलाई आधार बनाएर विद्यालय अन्र्तगतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयको रुपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी हो ।

यसैगरी पौष महिनामानै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तय भएको छ । तीन महिना सम्म चल्ने यो कार्यक्रम जिआइटीसँग मिलेर गर्न लागिएको हो । सहभागीले सिटिभिटिको प्रमाणपत्र र एकथान पञ्चेबाजा पाउनेछन् । एउटा समुहमा ५ जना रहनेछन् ।

पौष महिनाको दोस्रो हप्ता म्याग्दिमा कवि गोष्ठीको आयोजना हुनेछ । गोष्ठिमा सहभागी कविले आफ्नो रचना सुनाउनेछन् भने कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैं क्रियाशिल बन्ने कुलपति सुर्य खड्का विखर्चीले बताए। ‘गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्नेछौं’ कुलपति विखर्चीले भने।

यहीं मंसिर २९ गते प्राज्ञ सभा बैठक बस्ने र बैठकबाट आयोजना गरिसकेको कार्यक्रमको समिक्षा तथा अब आयोजना हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउन केही निर्णय गरिने उपकुलपति गोरे गुरुङले जानकारी दिए।