संगम माविको वार्षिकोत्सवमा सहयोगदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



पोखरा, ५ मंसिर । अन्नपूर्ण गाउँपालिका–६ चन्द्रकोटस्थित संगम माविले आफ्नो ५०औं वार्षिकोत्सव एवं अभिभावक दिवस मिति सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहमा शैक्षिक सत्र ०७६/७७ मा कक्षा प्रथम, द्वितीय र तृतीय हुने उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार तथा जेहन्दार छात्रवृत्तिसमेत वितरण गरिएको छ । कोभिड–१९ महामारीका कारण हरेक वर्ष मनाउदै आएको वार्षिकोत्सव कार्यक्रम गत वर्ष स्थगन गरिएको विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेल बताए ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले विद्यालयले संख्यात्मकभन्दा पनि गुणात्मक शिक्षाको विकासमा जोड दिनुपर्ने सुझाव दिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत बलराम भुगाँईले विद्यालयको शैक्षिक उन्नयनका निम्ति विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समिति सबैपक्ष उत्तिकै जिम्मेवार भई लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेलले विद्यालयको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुको साथै विभिन्न शैक्षिक एवं भौतिक गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा ताञ्चोक आधारभूत विद्यालयका प्रधानाध्यापक ताराप्रसाद गुरुङ, सिद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद देवकोटा, पूर्वशिक्षक एवं विद्यार्थी एकदेव देवकोटा, कान्छी बराह आमा समूहका अध्यक्ष जौमाया पाध्या लगायतले विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिएका थिए ।

समारोहमा विद्यालयका पूर्वप्रधानाध्यापक एवं अक्षयकोषदाता हरिमान गुरुङ र पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई दोसल्ला ओढाई विदाई तथा सम्मान गरिएको थियो । यस्तै सोही अवसरमा विद्यालयका जग्गादाताहरु अन्नपूर्ण गाउँपालिका वडा नम्बरमा ६, लुम्ले निवासी प्रेम कुमारी गुरुङ र मीन बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी अक्षयकोषदाताहरु अन्नपूर्ण–७, माझगाउँ निवासी नरकाजी गुरुङ, अन्नपूर्ण–७ ह्वाँडी निवासी ज्ञान बहादुर गुरुङ र अन्नपूर्ण–११, घान्द्रुक निवासी रुप कुमारी गुरुङका साथै विद्यालय र त्यहाँ अध्ययनरत् विद्यार्थीहरुलाई स्पोर्टस् ड्रेस, खेलकुद सामाग्री, स्टेशनरीलगायत आर्थिक सहायता गर्ने विभिन्न सहयोगदाताहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

विद्यालयको शिक्षक कर्मचारीहरुको हाजिरी व्यवस्थित गर्नका लागि आवश्यक १ थान विद्युतीय हाजिरी मेशिन पोखरा–९, न्यूरोडस्थित कस्मिक कम्प्युटिङ सोलुसन्सले सहयोग प्रदान गरेकोमा उक्त संस्थालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रमको अवसरमा अन्नपूर्ण–७, तान्चोक हाल पोखरा निवासी पूर्वविद्यार्थी मनोज गुरुङले ५० हजार रुपैयाँ र जग्गादाता अन्नपूर्ण ६, लुम्ले निवासी प्रेम कुमारी गुरुङले पाँच हजार रुपैयाँ विद्यालयलाई नगद सहयोग गरेका विद्यालय व्यवस्थापन समिति सदस्य तथा पूर्वविद्यार्थी मञ्च संगम माविका कोषाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार विद्यार्थीहरुले गायन एवं आकर्षक नृत्य प्रस्तुति गरेका थिए । पोखरादेखि झण्डै ३५ किमी उत्तर–पश्चिममा पर्ने संगम माविमा कक्षा ६ देखि १० सम्मका ७५ जना विद्यार्थीहरु अध्ययनरत छन् भने उक्त विद्यालयमा हाल ११ जना शिक्षक÷कर्मचारीहरु रहेका छन् ।