तमु ल्होछारमा तमु धिंमा पुस १० गतेदेखि विविध कार्यक्रम हुने

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



पोखरा, ८ पुस । तमुजातिको नयाँबर्ष, महान चाड तमु ल्होछार(तो ल्हो) २०७८ आउदो पुस १५ गतेदेखि आगमन हुदैछ। बाह्रवटा ल्हो(वर्ग)मध्ये पुस १४ को रातीबाट १२ बजेबाट अहिले भोग गरिरहेको ल्वों ल्हो(गाई वर्ग)को विदाई र तो ल्हो(बाघ वर्ग)को आगमन हुदैछ। तो ल्हो(बाघ वर्ग) आगमनको अवसरमा तमु धिं नेपाल लगायतका विभिन्न तमु संघ संस्थाहरुले पोखरामा विविध कार्यक्रमहरु गरी मनाउने तयारी गरिरहेको छ।

यसै क्रममा तमु धिं नेपालमा पुस १० गते तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले शुभकामना आदान प्रदान सहित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने रोधी साँझ साँस्कृतिक कार्यक्रम गरी तमु ल्होछार मनाउने भएको छ। कार्यक्रममा चर्चित लोक गायिका माया गुरुङ, सर्मिला गुरुङ, राजु गुरुङ, गणेश गुरुङ, दुर्गा गुरुङ, भिमु गुरुङ सागर गुरुङ, चिज गुरुङ लन्छु, शंकर विरही गुरुङ, जादुगर शेरबहादुर गुरुङ लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने भएको छ। तमु कलाकार कल्याणकारीकोष स्थापनार्थ उद्धेश्यका साथ आयोजित कार्यक्रमकोे प्रमुख अतिथि पुर्व मन्त्री किरण गुरुङलाई आमन्त्रण गरिएकोे संघका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

यसरी नै पुस १२ गते तमु धिं नेपाल युवा विभागले ल्होछारको शुभकामना आदान प्रदानका साथै तमु युवाहरुलाई प्रशिक्षित गर्नुे भएको छ। “तमु ल्होछार, तमु युवा र भावी मार्ग” विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको युवा विभाग प्रमुख रमेश गुरुङले बताए । उक्त कार्यक्रमसँगै तमु जातिको परम्परागत खेल तारा(मे त्हले) खेल विकासका लागि तमु धिंमा तारा खेल मैदान निर्माणको शिलन्यास हुने भएको छ। खेल मैदानको शिलन्यास कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गर्नेछन्।

तो ल्होछारकै अवसरमा पुस १४ गते तमु धिं नेपालमा तमु धिं नेपाल र केन्द्रिय आमा समितिद्धारा शुभकामना आदान प्रदान, विविध साँस्कृतिक कार्यक्रम, सम्मान, छात्रवृत्ति एवम पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको तमु धिंले जनाएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न ८ अक्षयकोषबाट शैक्षिक, सामाजिक, साहित्यीक, सँस्कृतिसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित पुरस्कृत गरिने र विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण समेत गरिने भएको छ। उक्त बेलुका तमु ह्युल चोक बिरौटामा दिप प्रज्वलन गरी तो ल्होलाई स्वागत गर्ने र तमु धिंमा स्योंकै कार्यक्रम समेत हुने भएको छ ।

यस्तै गरी पुस १५ गते बिहान तमुहरुले आफ्ना मान्यजन, गुरु, खेगीहरुबाट अशिर्वाद ग्रहण गर्ने, ग्रहशान्ति, पुजाआजा गर्ने र तमुहरु क्होइबो, गुम्बा, समाजघर र मान्यजनको घर घरमा पुगी आर्शिवाद गर्ने गर्दछन भने दिउसो २ बजे पश्चात तमु संघ संस्थाहरुबाट सामुहिक रुपमा ल्होछार÷ल्होसार तमु धिंमा मनाउने भएको छ। सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विशेष साँस्कृतिक प्रस्तुति गरी मनोरञ्जन गर्ने भएको छ। कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आमन्त्रण गरी कार्यक्रमको संयोजक तमु(गुरुङ)कलाकार संघ गण्डका अध्यक्ष सुरेन्द्र गुरुङले बताए।

यसरी नै पुस १६ गते तमुहरुको परम्परागत छेलो प्रतियोगिता हुने भएको छ। तमु धिंमा हुने छेलो प्रतियोगिता मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)को पुजनीय बाबा टेकसाई गुरुङ स्मृतिमा हुने बताईएको छ। छेलो जितेर उक्त वर्षको म्रु(राजा) हुने तमुहरुको विगतको इतिहासको स्मरण गर्ने प्रतियोगिताको प्रमुख अतिथि मादी गाउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)लाइ आमन्त्रण गरिने भएको आयोजकले जनाएको छ।