एगाको साधारणसभा सम्पन्न, स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने योजना

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



पोखरा, ९ पुस । इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसियसन (एगा) पोखराको १८ औं साधारण सभा सम्पन्न भएको छ । पोखरा–२२ कालाबाङ घरेडी होमस्टेमा सम्पन्न साधारणसभामा पर्यटकीय उत्पादनलाई जोड दिँदै स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने योजना रहेको बताइएको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको पर्यटन विकास र प्रवर्द्नमा एगाको उत्पादनले सकारात्मक भूमिका खेलेको बताए । उनले आगामी दिनमा पोखरालाई देश विदेशमा चिनाउने उत्पादनमा पनि जोड दिन आग्रह गरे । स्वदेशी तथा विदेशी पाहुनाको रोजाइको सहर पोखरा भए पनि पाहुनाले पोखराको चिनोको रुपमा लाने स्थानीय उत्पादन अझै हुन नसकेको जनाउँदै पर्यटक लक्षित उत्पादनमा जोड दिनुपर्ने आवश्यता औल्याए ।

कोरोनाको कठिन अवस्था पार गरेका पर्यटन व्यवसायीले व्यवसायिक गति लिन अझै पनि समय लाग्ने भएकाले सरकारले पर्यटनमैत्री व्यवसायिक नीतिमार्फत् व्यवसायीलाई पलायन हुन जोगाउनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत नविन पोखरेलले सुन्दर सहरको चिनारी बोकेको पोखराले आफ्नै उत्पादनलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय जगतमा चिनाउनुपर्ने आवश्यता औल्याए । उनले पर्यटन लक्षित रचनात्मक कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको जनाउँदै पर्यटनमा समयअनुसार सिर्जनशीलतामा जोड दिन सुझाव दिए ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले पर्यटन क्षेत्रको विकासमा सामुहिक धारणा र सोचको आवश्यतामा जरुरी रहेको बताए । संस्थाका अध्यक्ष विश्वराज पोखरेलले एगा सम्बद्ध व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकलाई नेपाली मौलिकता बोेकेका उत्पादन सोभनियरका रुपमा प्रस्तुत गर्दै आएको जनाउँदै आगामी दिनमा पोखराको चिनारीको रुपमा उत्पादनलाई जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका निर्वतमान अध्यक्ष चिरञ्जिवी पोखरेल, संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक गोकर्ण लम्साल लगायतले पर्यटनको विकास र एगाको संस्थागत उद्देश्यको बारेमा प्रकाश पारेका थिए । संस्थाका सचिव गीता ढकालले सचिव प्रतिवेदन पेश गर्दै आउँदो कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिइन् ।