छोम्रोङमा आजबाट सेञ्चुरी ल्होसार सुरु

-


     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित


पोखरा, ११ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेञ्चुरी ल्होसार महोत्सवको आजबाट सुरु भएको छ ।

सेञ्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आइतबार) ११ गते देखि १४ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार भलिबलतर्फ १२ टिम र बास्केटबलतर्फ १४ टिमले दर्ता गरिसकेको बताए । दुवै प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी द्वितीय र तृतीय स्थान हाँसिल गर्ने टिमहरुले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमशः १५ हजार र ८ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

मेलामा तमु समुदायको मौलिक खेलको रुपमा लिइने छेलो हान्ने प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता तथा मेच घुमाई प्रतियोगिता समावेश गरिएको सल्लाहकार गुरुङले बताए । उनले मेला अवधिभर बेलुकीपख स्थानीय क्लबद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिने गुरुङले जानकारी दिए ।