आइतबार ७१ अंकले बढेको नेप्से आज ६९ अंकले घट्यो

- सबैभन्दा बढी गुमाउने निर्जीवन बिमाका लगानीकर्ता

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । केही दिन अगाडि लगातार ओरालो लोगेको सेयर बजार बुधबार यता उकालो चढेको थियो । आइतबार मात्रै सकारात्मक लयमा देखिएको सेयर बजार आज फेरि ह्वात्तै घटेको छ ।

आइतबार दुई उपसमूह बाहेक सबैमा हरियो लागेको थियो भने आज सबै समूह रताम्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक आज ६९.७७ अंकले घटेर दुई हजार ५२१.६५ अंकमा झरेको छ । आइतबार भने नेप्से ७१.२० अंकले बढेर दुई हजार ५९१.४२ बिन्दुमा उक्लिएको थियो ।

त्यस्तै आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि माइनसमा झरेको छ । आइतबार ५.३८ अंकले बढेर ४८२.७४ अंकमा उक्लिएको सेन्सेटिभ परिसूचक आज १०.८५ अंकले घटेर ४७१.८९ अंकमा झरेको छ । आज जम्मा २३८ कम्पनीको सेयर कारोबार भएको छ । जसमा एक करोड दुई लाख ९३ हजार २२६ कित्ता सेयर पाँच अर्ब ६० करोड ३९ हजार ६७१ रुपैेयाँमा किनबेच भएको छ ।

कारोबार रकम भने आइतबारको भन्दा थोरै बढेको छ । आइतबार २३१ कम्पनीका ८६ लाख एक हजार ९५६ कित्ता सेयर पाँच अर्ब १७ करोड ३२ लाख ५०२ रुपैयाँ किनबेच भएको थियो । आज सबैभन्दा बढी निर्जीवन बिमाका लगानीकर्ताले गुमाएका छन् । आज निर्जीवन बिमाअन्तर्गत ५.१५ प्रतिशतले सेयर घटेको छ । त्यस्तै अन्य समूहको ४.६२, लगानी समूह ३.३७, वित्त ३.३१, जलविद्युत ३.८३, विकास बैंक ३.९२ प्रतिशतले घटेका छन् ।

त्यस्तै आज दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी र गोर्खाज फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो । त्यस्तै आज सबैभन्दा बढी जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । जोशीको सेयर ८.५४ र घलेम्दीको ८.२१ प्रतिशतले सेयर घटेको हो ।