मेलम्चीको पानी छिट्टै राजधानी पुर्‍याइन्छ : मन्त्री चौधरी

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाए । अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौं ल्याउन लागिपरेको मन्त्री चौधरीले सुनाए ।

यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले बताए ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाई थियो ।

पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए । (रासस)