कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’ लोकार्पण

-



     सफल आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ पुस । शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को आज एक समारोहबीच लोकार्पण गरिएको छ । उनको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनको आयोजनमा आयोजित एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्की र डा शैलेन्द्र प्रकाश नेपालले ढकालले गाउँ, टोल, समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताए । उनको जीवनमा भए गरेका गतिविधिलाई चार खण्डमा विभाजित गरी प्रस्तुत गरिएको पुस्तकमा ७० लेखकका लेख तथा रचना समावेश गरिएका छन् । उनलाई धेरैले ‘ढकाल बा’ भनेर चिन्ने गर्दथे । गत वर्ष पुस ५ गते निधन भएका ढकाल भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय भएका थिए । उनी गाउँमा रहँदा घरको गहना बेचेरसमेत स्कुल बनाउने अभियानमा लागेका थिए।

ज्येष्ठ नागरिक आन्दोलनका योद्धा ढकालले गाउँमा छँदा विकास निर्माणका साथै आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गरेका थिए। विसं २०५६ मा काठमाडौ आएपछि उनले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गरेकाे छोरा (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले बताए।

आजको पुस्तक लोकार्पण समारोहमा साहित्यकार विन्दु अधिकारीले समाजमा गरिबी र अशिक्षाको अन्धकार हटाउन ढकालको योगदान महत्वपूर्ण रहेकाले त्यही योगदान समेटेर पुस्तकारको रुपमा ल्याइएको बताए । कलाकार मदनदास श्रेष्ठले स्वर्गीय ढकाल सामाजिक व्यक्तित्व मात्रै नभएर एक कुशल कलाकारसमेत भएको जानकारी गराए। ढकालको योगदानका बारेमा साहित्यकार विप्लव ढकाल, पुस्तकका प्रधानसम्पादक कुलप्रसाद पराजुली, फाउण्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले चर्चा गरेका थिए ।