
काठमाडौं, ५ फागुन । गतवर्षको चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने धाराको उद्घाटन गरिन् । उद्घाटनपछि ‘सपना बुन्ने एउटा, टुटी खोल्ने अर्को’ भन्दै राष्ट्रपतिको आलोचनासमेत भयो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको भन्दै भाषण गरे । त्यो बेला उपत्यकामा आएको पानी परीक्षणका लागि मात्रै थियो । मध्यराति कहिलेकाहीँ उपभोक्ताको धारामा पानीसमेत आयो । राति २ बजे मेलम्चीको पानी आएपछि उपत्यकाबासीले खुसी साँटासाँट गरे । तर, त्यो खुसी धेरै दिन भने टिकेन ।
उपत्यका ल्याइएको पानी रोकेर सुरुङ परीक्षणका लागि खाली गर्ने तयारीपछि रोकिएको खानेपानी अहिलेसम्म रोकिएकै छ ।मेलम्ची खानेपानी आयोजनाको तयारी उपत्यकामा परीक्षण गरेर सुरुङ भरिएको पानी बन्द गर्ने र अध्ययन गर्ने थियो ।
ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट सुरुङमा भरिएको पानी बाहिर फाल्ने र पूरै खाली भएपछि समस्या भएरनभएको अध्ययन गर्नुपर्ने समितिको तयारी काठमाडौंमा गरिएको उद्घाटनले लम्बिएको थियो । हतारमा उद्घाटन गर्दा परीक्षणअवधि लम्बिएको र परिक्षणपछि सुरुङ खाली गर्न ढिलाई भएको प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
परीक्षणपश्चात् सुरुङ खाली गरेकै बेला मेलम्ची खानेपानी आयोजना असार १ गते बाढीको चपेटामा पर्यो । बाढीले आयोजनास्थलसम्म पुग्ने सडक, पुल, निर्माणस्थलका भवनलगायतका संरचनामा व्यापक क्षति नै पुर्यायो ।
प्रवक्ता पन्तका अनुसार वर्षाअवधीभर प्रवेशमार्ग र पुल बनाउनमै समय लाग्यो । समितिले गएको भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्ने तयारी गरेको थियो । तर, सुरुङको मुखमै ठूल्ठूला ढुंगाहरु आउदा ढिलाई भएको उनले बताए ।

सफल आवाजसँग कुरा गर्दै प्रवक्ता पन्तले भने, ‘मेलम्चीमा आएको बाढीले सुरुङमा करिब १५ मिटरसम्म ठूल्ठूला ढुंगाहरु अड्किएका छन् ।’ त्यो निकाल्न धेरै समय लाग्ने देखिन्छ । ‘लामो समय नदीले पुरेको भाग नै सफा गर्न लाग्यो,’ उनले भने, ‘डोजरले पनि ढुंगाहरु निकाल्न नसकेपछि अहिले नेपाली सेनालाई जिम्मा दिएका छौं ।’
प्रवक्ता पन्तका अनुसार ढुंगा फुटाउन विस्फोट गर्ने मेशिन आवश्यक भएको छ । ‘ढुंगा फोड्न विस्फोट मेशिन नै चाहिने देखिन्छ,’ उनले भने, ३र४ वटा ‘ठूल्ठूला ढुंगा छन् । त्यो फोड्नका लागि नेपाली सेनासँग समन्वय गरेर काम गरिरहेका छौं ।’
वैकल्पिक माध्यमबाट पानी ल्याउन अम्बाथानको अडिट सुरुङ खोल्नुपर्ने उनले बताए । ‘अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ,’ उनले भने । अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गर्ने र त्यसपछि पानी ल्याउन सकिने उनले बताए ।
आयोजनामा बाढीबाट १ अर्बको क्षति
गत असार र त्यसपछि आएको बाढीले मेलम्ची परियोजनामा करिब १ अर्ब बराबरको नोक्सान गरेको थियो । प्रवक्ता पन्तका अनुसार आयोजना स्थलमा मर्मत गर्न मात्रै अहिले करिब १ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
बाढीले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुर्याएको थियो । त्योसँगै निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना, निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको थियो ।
अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन सुख्खा मौसम हुनुपर्ने उनले बताए ।
३ दशकदेखिको प्यास
पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले करिब ३ दशकअघि काठमाडौंमा उम्मेदवार हुँदा घोषणा गरे, ‘म मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखालिदिन्छु ।’
उपत्यकामा खानेपानी अपुग भएपछि दीर्घकालीन रूपमै समाधान गर्ने उद्देश्यले मेलम्चीबाट काठमाडौं पानी ल्याउने र समस्या समाधान खोज्ने भन्दै २०४७ सालको चुनावमै भट्टराईले मेलम्चीको सपना देखाएका थिए । उनले सपना देखाउनुअघि नै उपत्यकामा पानीको संकट देखिन थालेपछि निर्विकल्प मेलम्ची हुँदै गएको थियो ।
वि.सं. २०३०/ ३१ देखि नै उपत्यकाभित्र र बाहिरका सतहगत स्रोतहरू अध्ययन गरी उपत्यकामा खानेपानी परिपूर्ति गर्ने योजना बनेको थियो । सतहगत स्रोतले पनि उपत्यकामा पानी नपुग्ने अध्ययनले देखाएपछि भट्टराईले मेलम्ची ल्याउने प्रतिवद्धता नै घोषणा गरे । पञ्चवर्षीय योजना र काठमाडौंको भविष्यको रुपमा हेरिएको मेलम्ची विभिन्न निकायले अध्ययन गर्दै प्रतिवेदन बनाउँदैमा लामो समय बित्यो । पञ्चवर्षीय योजनाको मेलम्ची ३ दशकभन्दा बढी समय बित्दा पनि पूर्णता पाएको छैन ।

मेलम्ची अन्तर-जलाधार परियोजना
मेलम्ची बृहत् अन्तर-जलाधार परियोजना हो । यो सिन्धुपाल्चोकको साविकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँमा पर्छ । यसै ठाउँमा मुहान बनाउने योजनाअनुरुप चर्चामा आएको परियोजना अहिले पनि चर्चामै रहेको छ ।
रिबर्मामा ‘हेडवर्क्स’ निर्माण गरी पहिलो चरणमा रिवर्मादेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमार्फत् दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने आयोजनाको उद्देश्य हो । त्यसले पनि नपुग्ने अध्ययनले देखाएपछि दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट समेत दैनिक १७/१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याउने दीर्घकालीन लक्ष्यका मेलम्चीको निर्माण कार्य सुरु गरेको थियो ।
केही वर्षअघि जर्मन सहयोग संस्था (जीटीजेड) ले गरेको अध्ययनअनुसार त्रिपुरेश्वर, न्युरोडसहितका क्षेत्रमा जमिनमुनिको पानीको सतह १५ मिटरसम्म घटेको थियो । उपत्यकाका मुख्य सहरी क्षेत्रमा मात्र होइन, वरिपरिका क्षेत्रमा पनि केही वर्षअघिसम्म ५५ देखि ६० मिटरमुनि पानी भेटिने गरिएकोमा अध्ययनपछि १२० मिटरभन्दा तल खन्दा पनि पानी भेटिन छाडेको उपत्यकाबासीहरू बताउँछन् ।
मेलम्ची परियोजनाको लागत कति ?
सन् १९९९ मा विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययनदेखि सन् २००१ मा एसियाली विकास बैकबाट ऋण सहयोग गर्ने भन्ने सम्झौता भइसकेको थियो । सन् २००० मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरेर सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता स्वीकृत भएको थियो । त्यसपछि मात्रै मेलम्ची खानेपानीको काम सुरु भएको थियो ।
सन् २००२ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी आयोजनाको प्रारम्भिक लागत अनुमान जम्मा ४६ करोड ४० लाख अमेरिकी डलर रहेको थियो । जसमा एसियाली विकास बैंकबाट १२ करोड, नेपाल सरकारबाट ११ करोड ८० लाख, विश्व बैंक ८ करोड, जेविक ९जापान० ५ करोड २० लाख, नोराड २ करोड ८० लाख, सिडा २ करोड ५० लाख, जापान सरकार १ करोड ८० लाख, ओपेक १ करोड ४० लाख र एनडीएफ ९० लाख डलर गरी ४६ करोड डलर लाग्ने हिसाब निकालिएको थियो ।
तोकिएका दातृ निकायहरुमध्ये कतिपयको कार्यान्वयन नै भएको छैन । कतिपयको बहिरमन भएको छ भने कतिपयको सहयोग निरन्तर भएको आयोजना समितिले जनाएको छ ।

मेलम्चीको निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसी गएपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको हो । आयोजनाअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रसहित अन्तिम चरणमा पुगेको निर्माण अवस्थालाई मेलम्चीको बाढीले पर सारेको छ ।
खानेपानीमन्त्री चौधरीको घोषणा
गत पुस १४ गते आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमै भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेका थिए । पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याउने उनको दाबी थियो ।
कांग्रेस महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद दिँदै उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू रातदिन खटेको बताएका थिए ।
‘यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्री ओलीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना हो । अब छिट्नै उपत्यकामा पानी ल्याएर भट्टराईको सपना पूरा गर्छु ।’ उनले भनेका थिए । तर, उनले बोलेको कुरा २ महिना बित्न लागिसकेको छ । तर, मेलम्चीको सुरुङसमेत सफा भएको छैन ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




