लामा अमृत फाउण्डेशनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित



पोखरा, ८ फागुन । लम्जुङको मर्स्याङ्दी गाउँपालिका ५ बडलविसौनास्थित सूर्योदय प्राविका विद्यार्थीलाई लामा अमृत फाउडेशन घान्द्रुकले लत्ताकपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ ।

फाउन्डेशनका संस्थापक अमृत गुरुङले स्थानीय बाघेता युनाइटेड क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा २२ जना विद्यार्थीलाई ज्याकेट, झोलासहित शैक्षिक सामाग्री सहयोग गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवजी गुरुङले फाउण्डेशनको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले स्थानीय क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा सहयोग गाउँमा भित्रिएको बताउँदै भने, ‘हाम्रो यस्तो कुनामा पनि यस्तो सहयोग आउँछ भन्ने सोचेका पनि थिएनौं । बाघेताका अध्यक्ष विष्णु र फाउण्डेशनको संस्थापकलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

बाघेता युनाइटेडका अध्यक्ष विष्णु गुरुङले फुटबलको क्षेत्रमा मात्रै काम गर्दै आएको बताउँदै सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसहित लामा फाउण्डेशनलाई गुहारेको बताए । क्लबहरुले खेलको क्षेत्रमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लामा फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बोध गर्न लमजुङको थाल्जुङ गाउँको विद्यालयमा सहयोग गरेकोे बताए । उनले ८० हजार बराबरको सामग्री सहयोग जुटाएको बताउँदै विद्यार्थीको पठनपाठनमा सो सहयोगले थप टेवा पुग्ने बताए । ‘बालबालिका भनेको भविष्यको कर्णधार हुन्, त्यसैले उनीहरुको पठनपाठनमा कमी दिनु हुदैन, उनले भने, ‘त्यही सोचेर मैले पहिलो पटक लम्जुङ आएर सहयोग गरेको हँ ।’

उनले आफ्नो अभियानलाई सफल पार्न देश तथा विदेशमा रहेका ईष्टमित्रबाट सहयोग रकम जुटाएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताए । यसअघि लामा अमृत फाउण्डेशन घान्द्रुकले जोखिम रहेको कास्कीको अन्नपूर्ण गाउँपालिका १० कलाभिरमा करिब १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो ।