डेनमार्कमा नेपाली पुस्तक विमोचन

-



     प्रकाश सापकाेटा, डेनमार्क    
     फागुन ८ गते २०७८ मा प्रकाशित


डेनमार्क, ८ फागुन । ‘विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तकको बिमोचन तथा समिक्षा एक समारोहका विच डेनमार्कको कोपनहेगनमा सम्पन्न भएकाे छ। 

डेनमार्क बसोवास गर्दै आएका लेखक कृष्ण पौडेलले लेखेकाे सो पुस्तक नेपाली दुतावास डेनमार्कका कार्यवाहक राजदूत तिर्थराज अर्यालले बिमोचन गरेका हुन।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा सो समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले पठाउनु भएको लिखित शुभकामना सन्देश च्याप्टरका सदस्य दीपक कुमार तिवारीले वाचन गरेर सुनाएका थिए। 

पुस्तकको समिक्षा अनेसास डेनमार्क च्याप्टरका पूर्व अध्यक्ष लेखक प्रकाश सापकोटा, डा. लक्ष्मण घिमिरे र उदयराज गौतमले गरेका थिए। 
कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका उपसभापति प्रकाश ढकाल, एनआरएनए डेनमार्कका अध्यक्ष शैलु अधिकारी, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष घनश्याम गौतम, गैर आवासीय नेपाली संघ डेनमार्कका पूर्व अध्यक्ष यमलाल सुवेदी लगायतका वक्ताहरुले पुस्तकका सर्जकलाई कठिन समयका बावजुद पुस्तक लेख्ने जस्तो चुनौती पूर्ण काममा सफलता प्राप्त गर्नुभएकोमा लेखकलाई बधाई र शुभकामना दिएका थिए।

यनीहरूले पुस्तकप्रतिको अपेक्षा, धारणा, यसले समेटेका विश्व पूँजीवादी अर्थतन्त्रको विकास, आर्थिक विकासका क्रममा आइपरेका सामाजिक एवं ऐतिहासिक पक्ष एवं मानव इतिहासकै ढुङ्गे युगदेखि आधुनिक साइवर युगसम्मका विभिन्न कालखण्डलाई कसरी समेटिएको छ भन्ने बारेमा आफ्ना धारणा राखेका थिए ।

विमोचन एवं समीक्षा समारोहमा डेनमार्क च्याप्टरका सदस्य प्रदीप पाण्डेले स्वागत मन्तव्य र लेखकको परिचय एवं कार्यक्रमको संचालन च्याप्टरका सदस्य दीपक तिवारीले गरेका थिए।

सात अध्यायमा समेटिएको पुस्तक ५ दर्जन बढी सन्दर्भ सामग्रीहरूको गहिरो अध्ययनपछि नेपाली भाषाका पाठकका लागि सरल तर गहन ढंगले मेहनत पूर्वक लेखिएको छ।

बुकहिल पब्लिकेशनले प्रकाशन गरेको उक्त पुस्तक नेपाली बजारमा उपलब्ध छ भने छिटै अनलाइन अर्डर र इ-बुकका रुपमा पनि प्राप्त हुने व्यवस्था मिलाउने तयारी रहेको जानकारी दिइएको छ।