उपकार लघुवित्तकाे २ करोड ३६ लाखको आईपीओ आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित



काठमाडौँ, २५ चैत । उपकार लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।