नयाँ बजेटका लागि सुझाव संकलन गर्दै अर्थ मन्त्रालय, कहिले छापिन्छ रातो किताब ? [कार्यतालिकासहित]

-



     सफल आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि धमाधम बजेट बनाउँदैछ । बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा अर्थ मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेर बजेटमाथि सुझाव संकलन गरिरहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभा बैठकमार्फत बजेट सार्वजनिक गर्नुपर्छ । मन्त्रालयले संविधानको सोही व्यवस्था बमोजिम जेठ १५ मा बजेट सार्वजनिक गर्नेगरी अहिले धमाधम बजेट निर्माण गरिरहेको छ ।

कार्यतालिका अनुसार आगामी जेठ ८ गते मन्त्रालयले राष्ट्रपतिसमक्ष बजेट ब्रिफ्रिङ गर्नेछ । त्यसपश्चात मन्त्रालयले आय/व्याय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तयारी गरेको छ। आगामी बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल अन्तिम चरणमा पुर्‍याएको छ ।

यस्तै, चैत १ देखि यो महिनाको मसान्तसम्म मन्त्रालयले विभिन्न पक्षबाट आएका सुझावहरु संकलन गर्नेछ । विनियोजन विधेयकका सिद्धान्तहरु वैशाख २० गते संसदको दुवै सदनमा पेश गरिनेछ। वैशाख २  देखि १५ सम्म पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरुसँग छलफल गर्ने तालिका मन्त्रालयको छ ।

यसपछि वैशाख ३० मा सार्वजिक संस्थान र मन्त्रालयको प्रगति विवरण छाप्ने तालिका बनेको छ। यसैगरी, जेठ ८ मा व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ। सोहि दिन बजेटलाई पनि अन्तिम टुंगो दिइनेछ।

यस्तै, जेठ १३ मा स्रोत पुस्तिका छपाइका लागि प्रेसमा पठाइनेछ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।