पुँजी वृद्धिको कार्ययोजनामाथि छलफल गर्दै बीमा समिति

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । बीमा समितितले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा आज (बिहीवार) छलफल गर्दैछ । समितिले छलफलका लागि सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखहरूलाई बोलाएको छ । छलफल दिउँसो साढे ३ बजेदेखि शुरू हुने समितिले जनाएको छ ।

पुँजी वृद्धिका लागि बीमा कम्पनीहरूले योजना पेश गरेपछि समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै छलफलमा सहभागिता जनाउन निर्देशन दिएको हो ।

समितिले बोलाएको छलफलमा कम्पनी सञ्चालक समितिका अध्यक्षसहित मुख्य संस्थापक सेयरधनीबाट एक जना प्रतिनिधि र कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेतको सहभागिता हुनेछ । समितिको निर्देशन अनुसार सबै बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेश गरिसकेका छन् ।

समितिका अनुसार योजना पेश गरेका कम्पनीमध्ये अधिकांश कम्पनीले हकप्रद र बोनस सेयरमार्फत् पुँजी वृद्धि गर्ने योजना अघि सारेका छन् । तर, बीमा समिति भने कम्पनीको संख्या घटाउने पक्षमा छ । बीमा कम्पनीको संख्या घटाउन समितिले मर्जरको बाटो रोजिने बताएको छ ।

समितिले गत चैत १० गते एक महिनाभित्र बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ ।