विदेशी मुद्रा सञ्‍चितिमा सामान्य सुधार, चालु खाता घाटाको अवस्था भने उस्तै

-



     सफल आवाज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । विदेशी मुद्रा सञ्चितिमा सामान्य सुधार आए पनि चालु खाता घाटाको अवस्था भने उस्तै देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाताको घाटाले अर्थतन्त्रमा आएको खतरा टरिनसकेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार चालु खाता खाता एक महिनाको अवधिमै करिब ५० अर्ब डलरले बढ्दै जीडीपीको ११ प्रतिशत नजिक पुगेको छ।

चालु खाता घाटाको चाप चैतमा अझ थपिएको हो।

फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँले थपिएर ५१२.७१ करोडले घाटामा पुगेको छ। यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १०.६८% हो।

नेपालको जीडीपीको आकार अहिले ४८ खर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) बराबर छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधानन्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो।

विदेशी मुद्रा संचिति भने गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले थपिएको देखिएको छ।

यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो।

नौ महिनाको आयातलाई आधार मान्दा यो रकमले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिएको छ।

२०७८ असार मसान्तमा करिब १४०० अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा संचितिको अवस्थामा लगातार ओरालो लाग्दै केही महिनामै चिन्ताजनक अवस्थामा आइपुगेको थियो।

यस्तै, एक महिनाको समीक्षा अवधिमा वस्तु तथा सेवाको मूल्यवृद्धि अझ चर्किएको देखिएको छ।

पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मुल्यवृद्धि र विश्वव्यापी आपूर्ति श्रृंखलामा सिर्जित असजताको असर नेपानी उपभोक्तालाई पनि पर्ने क्रम रोकिएन। फागुन मसान्तमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति चैत मसान्तमा ७.२८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सरकारले चालु आवमा ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखे पनि यो उक्त लक्ष्यबाट करिब १ प्रतिशत विन्दुले उकालो लागिसकेको छ।