राष्ट्रिय उत्सवकाे रुपमा ग्रहण गरी मताधिकार प्रयोग गरौं : प्रमुख आयुक्त थपलिया

- मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपूर्जाको आधारमा मतदान गर्न सकिन्छ

-



     सफल आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान जारि रहेकाे छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो । निर्वाचनकै इतिहासमा पहिलोपटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले पनि मतदान गर्ने अवसर पाएका छन् ।

“यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन अपिल गर्दछु । ”प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो ।

कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अधिकार निर्वाचनले प्रदान गर्छ । उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आह्वान गरे।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्ति एवं मन्त्रिपरिषद् सदस्यले सन्देश र अपिल जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गरे । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले ३४ हजार ८३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् । यसपटक निर्वाचनका लागि भनेर दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ राजनीतिक दल चुनावी मैदानमा छन् । कूल ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण

मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्नसक्ने आयोगले जानकारी गराएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन आयोगबाट छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गरेका छन् ।