नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित



मनाङ, ३१ वैशाख । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो ।

नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भए । उनले १५८ मत पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भए। उनी ३२० मतले अध्यक्षमा निर्वाचित भए ।

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भए । कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए।

मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। मतगणना आज साँझसम्ममा सकिने उनले बताए। जिल्लामा ६२।६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकाेमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए।

सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३।०१ प्रतिशत मत खसेको छ ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५।७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७।८५ प्रतिशत मत खसेको थियो ।