फेरि इन्धनको मूल्य बढाउने तयारी, आईओसीले पठायो नयाँ मूल्य सूची

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ जेठ । एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलको मूल्य बढाएको नेपाल आयाल निगमले पुनः मूल्य बढाउने तयारी थालेको छ । ह्वात्तै मूल्य बढाएको २ दिन वित्न नलाग्दै सोमबार साझ देखि नै नियमले मूल्य बढाउने विषयमा गृहकार्य सुरु गरेको हो ।

श्रोतका अनुसार आगामी साता वा अर्को साताभित्रै निगमले फेरि मूल्य बढाउने गरी छलफल समेत गरेको छ । भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । यसकारण पुनः मूल्य बढाउने निगमको तयारी हो ।

अहिल्य नै बढाइहाल्दा जनस्तरबाट चर्को विरोध हुनसक्ने भएकाले तत्कालै निर्णय लिन भने निगमलाई सहज छैन । ‘आज भोलि नै बढाइहाल्दा चर्को विरोध हुन सक्ने खतरा छ, त्यहीँ भएर २ साता जति पर्खौ भन्ने सल्लाह भएको छ’ निगम निकट उच्च श्रोतले भन्यो, ‘अहिलेको माहोल अलि फरक भएपछि मूल्य बढाउने हो ।’

निगम श्रोतले दिएको जानकारी अुनसार आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर नयाँ मूल्यसूची आएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले मट्टितेल र एलपीजी ग्याँसको मूल्य भने अहिलेको मूल्य सूचीमा नबढेको उनले बताएका छन् ।

नेपाल आयल निगमले स्थानीय चुनाव लगत्तै मात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पु¥याएको थियो। बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पनि १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको छ ।

सरकार गुहारिरहेको छ भने सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट ऋणको प्रक्रिया अगाडि बढेको निगमका एक अधिकारीले मेरो लगानीलाई बताए । वाणिज्य बैंकबाट ऋण स्वीकृत भने भएको छैन ।

निगमले पछिल्लो समय आफ्नो सञ्चितिमा रहेको सबै रकम भारतलाई भुक्तानी गरेर नपुगेर मूल्य स्थिरिकरण कोषमा रहेको झन्डै ११ अर्ब रुपैयाँ समेत खर्च गरिसकेको छ । पछिल्लो समय निगमले पाक्षिक रुपमा आइओसीलाई गर्नुपर्ने भुक्तानी पेट्रोलियम पदार्थको बिक्रीबाट जति रकम जम्मा भयो, त्यति नै मात्रामा गर्दै आएको निगमका एक अधिकारीले बताए ।

पेट्रोलियम पदार्थमा धान्नै नसक्ने मूल्यवृद्धि भएपछि सरकारले बजेटमार्फत निगमले परल मूल्यमै बेच्ने जनाएको छ । परल मूल्यमै बेच्दा ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ, पेट्रोल र डिजेलको मूल्य १८५ रुपैयाँ बराबर हुनेछ ।