१९ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, ७ वटाको घट्यो

-



     सफल आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ जेठ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको नाफामा सामान्य वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूको नाफा घटेपनि सो अवधिमा निर्जीवनको भने कुल नाफा ४ प्रतिशतले बढेको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा  ३० प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको नाफामा सामान्य वृद्धि भएको पाइएको हो ।

१९ निर्जीवन बीमा कम्पनीहरूले गत साउनदेखि चैतसम्ममा १९ कम्पनीले ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको भन्दा १३ करोड १६ लाख रुपैयाँले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा ती कम्पनीले ३ अर्ब ४५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तेस्रो त्रैमाससम्ममा नाफा कमाउनेमा शिखर इस्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीले यस अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ कमाएको छ । नेको इन्स्योरेन्सले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएर आफूलाई तेस्रो स्थानमा उभ्याएको छ । २९ कम्पनीको नाफा बढेपनि ७ निर्जीवन बीमा कम्पनीहरूको भने नाफा घटेको छ ।

जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३१ प्रतिशत, एभरेष्टको २६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २० प्रतिशत र प्रुडेन्सियलको ११ प्रतिशतले नाफा घटेको छ । आईएमई जनरलको ११ प्रतिशत, प्रिमियरको १२ प्रतिशत र नेकोको २ प्रतिशतले नाफा घटेको देखिएको छ । यसबीचमा भारतीय लगानीको कम्पनी नेशनल इस्योरेन्सले भने चालू आवको कुनै पनि त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

‘बढेको नाफामा सन्तुष्ट छैनन् कम्पनीहरू’

नाफा बढेपनि निर्जीवन बीमा कम्पनीहरू सन्तुष्ट भने छैनन् । उनीहरूले धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य घट्दा निर्जीवन बीमा कम्पनीहरूको नाफामा नकारात्मक प्रभाव परेको बताएका छन् । 

शेयरबजारमा लगानी तथा कारोबार गरेर निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य आम्दानी गर्दै आएकोमा  पछिल्लो समय शेयर मूल्य ओरालो लाग्न थालेपछि कम्पनीहरूले शेयर कारोबार गर्नै छाडेका छन् ।

उनीहरूले किनेर राखेको शेयर ‘होल्ड’ भएको छ, त्यसबाट हुने आम्दानी रोकिएपछि बीमा कम्पनीहरूलाई समस्या परेको हो । बजार ओरालो लाग्दा कम्पनीले किनेको शेयरको मूल्य पनि घट्दै गएको र त्यसबापत उनीहरूले छुट्टै रकम प्रोभिजनिक गर्नुपरेको छ ।

रकम प्रोभिजनिङका कारण पनि बीमा कम्पनीहरूको नाफा प्रभावित भएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री बताउँछन् । उनले भने,’बजार घट्दै जाँदा शेयरको मूल्य पनि घट्दै गएको छ । त्यसकारण छुट्टै रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । जसले गर्दा पनि नाफा प्रभावित भएको हो ।

यद्यपी कम्पनीहरूको बीमांकीय मूल्यांकन गरेपछि यो नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा सार्न सकिने व्यवस्था छ । त्यसकारण बीमांकीय मूल्यांकनपछि बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ ।