नेपालकाे विद्युत खरिद गर्न बंगलादेश भयाे सहमत

-



     सफल आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ जेठ । नेपालबाट विद्युत खरिद गर्न बंगलादेश तयार भएको छ । नेपाल–बङ्गलादेशबीच   कूटनीतिक   सम्बन्ध   स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको समेत बताएका छन् ।

ऊर्जाबाहेकका    क्षेत्रमा    लगानीका    लागि    नीतिगत सुधारको अपेक्षा गरेको पनि राजदूत चौधरीले जानकारी दिए  । नेपालसँग  लगानी  सुरक्षणसम्बन्धी  छुट्टै  सम्झौता  गर्न  पहल  गरे  पनि  परिणाम  हासिल  हुन  नसकेको  उनले  बताए । 

छलफलमा  चेम्बरले  ऊर्जा क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग प्रस्ताव गरेको थियो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्युत् खरिदसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न पनि राजदूत चौधरीसँग आग्रह गरेका थिए ।

कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए । नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाइ छ ।

भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।