सडकदेखि संसदसम्म चर्चामा रहेका बालेन्द्र शाह १६ हजार ९३४ मतान्तरसहित अगाडी

-



     सफल आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ जेठ । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन २०७९ को मत परिणाम आउने क्रम अब अन्तिम चरणमा रहेको छ । बाँकी रहेकाे मतकाे गणना भईरहेकाे छ ।

वामपन्थिको किल्ला मानिएको र नेतृत्वमा रहँदै आएको काठमाडौं महानगरमा यसपालि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले जितको नतिजा निकाल्ने संभावना बढेको छ ।

आज बिहानसम्मको मतपरिणामलाई हेर्दा उनी प्रतिष्पर्धीभन्दा १६ हजार ९३४ मतले अगाडी रहेका छन् । उनले अग्रता लिई रहँदा उनको उदय दलहरुको लागि चूनौतीको रुपमा खडा भएको स्वयं सांसदहरुले संसदमै चर्चा गरिसकेका छन् ।

देश संघयितामा गएपछि दोश्रो पटक भएको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको उदयले सुसुप्त रहेका मतदातालाई जगाएको छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमा सहभागिता हो भन्ने कुरालाई यसले पुष्टि गर्छ । अर्को परम्परागत रुपमा चल्दै आएका दलहरुलाई उनीहरुको कमजोरीको विरुद्ध चुनौती पनि हो ।

देशभरको परिणामलाई हेर्दा आज बिहानसम्म ७५३ पालिकामध्ये ७०२ पालिकाको परिणाम सार्वजनिक भएको छ । सबैभन्दा बढी गठबन्धनमा रहेको नेपाली कांग्रेसले ३११ स्थान प्रमुखमा जितेको छ । १५ स्थानमा अग्रता लिएको छ । दोश्रो क्रममा नेकपा एमाले रहेको छ । उसले १९० स्थानमा जित हाँसिल गरेको छ भने १३ स्थानमा अग्रता लिएको छ ।

तेश्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १२० स्थानमा जित निकालेको छ । २ स्थानमा अग्रता लिएको छ । चौथोमा जसपा रहेको छ । २६ स्थानमा जित र ६ स्थानमा अग्रता लिएको छ । पाँचौ स्थानमा रहेको एकिकृत समाजवादीले १७ स्थानमा जित र ३ स्थानमा अग्रता लिएको छ ।

बालेन्द्र नै अगाडी

यसैबीच, मतगणना शुरुआत भएपछि अग्रतालाई कायम राख्दै आफ्ना प्रतिष्पर्धी उम्मेदवारहरुलाई भारी मतले पछाडी पारिरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३९ हजार ६ पाएका छन् । उनको पछिपछि नेपाली कांग्रेकी सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन् ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता ढंगोल ३६ हजार ३३२ मतकासाथ अग्र स्थानमा छन् । उनलाई एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याईरहेका छन् । उनले १२ हजार ३९ मत पाएका छन् ।