निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच पालिकाको नतिजा आउन बाँकी

-



     सफल आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ जेठ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन् ।

प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकि छन् भने प्रतिद्वन्द्वी कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेकि छन् । रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन्। उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेकी छन् । रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि छन् ।

उपप्रमुखमा कांग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गरेका छन् । सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ ।

एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ ।