
काठमाडौँ, १२ जेठ । भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ ।
भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जेठदेखि) चिनी निर्यातमा समेत रोक लगाउने निर्णय गरेको छ ।
भारतमा उपभोक्ता मुद्रास्फीति ७.७९ प्रतिशत पुगेपछि गहुँ निर्यातमा अल्पकालीन रोक लगाउने निर्णय गरेको थियो । अब चिनी निर्यातमा पनि रोक लगाउने भएको हो ।
भारतले सीमा तोकेर जम्मा एक करोड टन मात्रै चिनी निर्यात गर्ने भनेको छ । जुन निकै न्यून हो ।
चिनी निर्यातमा भारत ब्राजिलपछि विश्वको दोस्रो ठूलो देश भएकाले पनि यसको उक्त निर्णयबाट नेपालसमेत प्रभावित हुनेछ ।
नेपालमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै वार्षिक करीब ८ करोड ८५ लाख किलो चिनी भारतबाटै आएको छ ।
भारतबाट आएको यस्तो चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ६१ करोड रूपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले आयातमा कडाइ गरेपछि गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा चिनी आयात ४५ प्रतिशतले घटेको छ ।
विभागको वैशाखसम्मको तथ्यांकअनुसार नेपालमा विभिन्न देशबाट ९ करोड ४५ लाख केजी चिनी आयात भएको छ । आयातित चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ८३ करोड रूपैयाँ छ ।
नेपालमा आयात भएको चिनीको यस्तो परिणाम गत वर्षको वैशाखसम्ममा १८ करोड ५२ लाख केजी थियो । गत वर्ष नेपालमा आयात भएको चिनीको मूल्य ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।
नेपालमा वैशाखसम्ममा आयात भएको गहुँसमेत १९ करोड १५ लाख केजी रहेको छ । आयात भएको गहुँको भन्सार मूल्य मात्रै ६ अर्ब ३२ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्षको वैशाखसम्ममा नेपालमा ३४ करोड ८ लाख केजी गहुँ आयात भएको थियो । गत वर्ष आयात भएको गहुँको मूल्य १० अर्ब ५८ करोड रूपैयाँ रहेको पनि विभागको तथ्यांकले देखाएको छ ।
भारतले गहुँ निर्यातमा लगाएको रोक तत्कालै नेपाली बजारमा देखिने निजी क्षेत्रका व्यवसायीले बताएका छन् ।
नेपालमा भारतबाट गहुँ नआउँदा आटा र मैदाबाट बन्ने खाद्यान्नको मूल्य पनि बढ्नेछ । गहुँ नआउँदा पर्ने असर चाउचाउ तथा बिस्कुट उद्योगमा देखिने व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका अनुसार गहुँ आयात रोकिँदा यसको तत्काल प्रभाव मैदा उद्योगमा पर्छ ।
भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपालका ४३ वटा मैदा उद्योग संकटमा परेको उनले बताए ।
नेपाल चिनी उद्योग संघका अनुसार नेपालको आन्तरिक खपत २ लाख ५० हजार मेट्रिक टन छ । जसमध्ये १ लाख ३० हजार मेट्रिक टन आन्तरिक उत्पादन हुने भए पनि बाँकी भारतलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।
बिस्कुट, चकलेट, बेकरीलगायत विभिन्न प्रकारका जुस उत्पादन गर्ने उद्योगहरूको मुख्य कच्चा पदार्थको रुपमा चिनीलाई लिइन्छ ।
ती उद्योगहरूले भारतबाट चिनी आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् । तर, अहिले भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध गर्ने निर्णयले उद्योगी थप मारमा परेका छन् ।
नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलले चिनी निर्यातमा प्रतिबन्ध गर्ने निर्णयले नेपालमा प्रत्यक्ष असर देखिने बताए ।
उनकाअनुसार स्वदेशमा उत्पादन भएको चिनीले विभिन्न उद्योगको खपत धान्दैन ।
‘आयात नहुने वित्तिकै बजारमा माग उच्च र आपूर्ति कम हुने वित्तिकै मूल्य बढ्नेछ,’ उनले भने ।
नेपाल बिस्कुट उद्योग संघका महासचिव बिक्रम कर्मचार्यले चकलेट, बिस्कुटलगायत अन्य विभिन्न उद्योगको कच्चा पदार्थका रुपमा प्रयोग हुने चिनीको प्रतिबन्धले नेपाली उद्योगमा धेरै प्रभाव पार्ने बताए ।
उनकाअनुसार चिनी उद्योगका लागि मात्रै नभएर आम सर्वसाधारणहरूको पनि अत्यावश्यक वस्तु पर्छ । त्यसैले, भारत सरकारले लगाएको प्रतिबन्ध हटाउन नेपाल सरकारले पहल गर्नुपर्छ ।
उनले भारत सरकारले लगाएको प्रतिबन्धले उद्योग बन्द हुने सक्ने बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




