भारतले फलामजन्य वस्तुको कच्चा पदार्थ निकासी शूल्क १५ प्रतिशत ताेकेपछि के भन्छन नेपाली उद्योगी ?

-



     दुर्गाप्रसाद हुमागाई    
     जेठ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ जेठ । भारत सरकारले फलामजन्य विभिन्न कच्चा सामाग्रीको निर्यात शुल्क बढाएसँगै यसको असर नेपालमा पनि देखिने भएको छ । भारतको अर्थमन्त्रालयले गत शुक्रवार फलामजन्य विभिन्न कच्चा सामाग्रीको निर्यात शुल्क १५ प्रतिशतले बढाएपछि यसको असर नेपालका उद्योगमा पनि देखिने भएको हो ।

यसअघि शून्य रहेको फलामजन्य कच्चा पदार्थहरूको निकासी शुल्क भारत सरकारले १५ प्रतिशतसम्म पुरयाएको छ । भारतले फलामजन्य तयारी वस्तुको शुल्क भने बढाएको छैन । यसले गर्दा नेपालमा कच्चापदार्थ ल्याएर सामान उत्पादन गर्ने नेपाली उद्योगहरू समस्यामा पर्ने उद्योगी व्यवसायीको भनाइ छ ।

भारतले यस्ता पदार्थहरूको निकासी शुल्क वृद्धि गरेपछि नेपालमा फलामजन्य सामाग्रीहरू,वायर रड तथा फलामे पाइपहरूको मूल्य बढ्ने उद्योगी व्यवसायीहरूले बताएका छन् ।

उद्योगी व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारले फलामजन्य उद्योगहरूलाई सुरक्षित गर्ने नीति लिन आग्रह समेत गरेका छन् । फलामजन्य पदार्थको तयारी वस्तुमा १५ देखि २० प्रतिशतसम्म शुल्क बढाएर भएपनि नेपाली उद्योगलाई सुरक्षित गर्न उद्योगी व्यवसायीको आग्रह रहेकाे छ ।

के भन्छन् उद्योगी व्यवसायीहरू ?

अहिले फलामजन्य सामाग्रीको कच्चा पदार्थ प्रायः सबै भारतबाट नै आउने हुँदा निकासीमा शुल्क एकाएक तिर्नुपर्दा यसको असर यहाँ उत्पादित सामाग्रीमा हुने सारडा ग्रूपअन्तर्गतको प्रिमियर वायरका सञ्चालक सौरभ सारडा बताउँछन् ।

उनले एमएस वायरबाट उत्पादन गरिने जिआर्य वायर, ग्याभियन बक्स, काँटी, टोरकारी, पिसी वायरको आयातमा सरकारले १५ देखि २० प्रतिशत अतिरिक्त एन्टी डम्पिङ वा अन्तःशुल्क निर्धारण गर्नुपर्ने बताए ।

यस्ता सामाग्रीको कच्चा पदार्थ भारतबाट ल्याएर यहाँ सामान बनाएर बिक्री गर्ने हाम्रा उद्योगहरूलाई यो एडिस्नल कस्ट हुन जान्छ । १५ प्रतिशत निकासी शुल्क र ५ प्रतिशत भन्सार शूल्क गर्दा २० प्रतिशत बढी खर्च हामीले तिरेर कच्चा पदार्थ किन्नुपर्ने अवस्था आयो,’सारडाले भने । भारतले एकातिर निकासी शुल्क बढाउँदा तयारी वस्तुको शुल्क भने बढाएको छैन । त्यसो हुँदा नेपालमा तयारी वस्तु आयात गर्दा ६ प्रतिशत मात्रै शुल्क लाग्ने भन्दै यसले यहीँ उत्पादन गर्ने उद्योगहरू धरासायी हुने उद्यमी सारडा बताउँछन् ।

उनी भन्छन्,‘२० प्रतिशत बढी मूल्यमा कच्चा पदार्थ किनेर ६ प्रतिशत कम मूल्य हुने सामानसँग हामीले प्रतिष्पर्धा गर्न सक्दैनौँ । १४ प्रतिशत घाटामा उद्योगहरू चल्न सक्दैनन् ।’ उनले अवस्था यस्तै रहेमा अबको एक महिनापछाडि नै नेपालका यस्ता उद्योगहरू बन्द हुने स्थितिमा जाने समेत चिन्ता व्यक्त गरे ।

यसले बैंकको लगानी समेत जोखिममा पर्ने भन्दै सरकारले आगामी बजेटमा यस्ता उद्योगहरूको सुरक्षार्थ नीतिगत व्यवस्था गर्नुपर्ने बताए । ‘हाम्रो उद्योग बचाउनुछ । भारतबाट त्यस्तो सामानको तयारी वस्तु नआओस् भन्नका लागि त्यसमा १५ देखि २० प्रतिशतसम्म ड्युटी लगाउनुपर्छ,’ सारडाले भने ।

भारतले फलामजन्य वस्तुको कच्चा पदार्थमा निकासी शुल्क बढाएसँगै नेपालमा यसको नकारात्मक प्रभाव पर्ने भन्दै बजेटमार्फत सरकारले नेपाली उद्योगको संरक्षण गर्नुपर्ने विशाल ग्रुप तथा कमला स्टिल्सका अध्यक्ष जगदिश अग्रवाल बताउँछन्।

उनले भारतबाट नेपाल आउनसक्ने फलामजन्य तयारी वस्तुलाई बढी भन्सार शुल्क लगाइदिन सरकारसँग माग समेत गरेका छन् । यसो हुन नसकेमा नेपाली उद्योगहरूले स्वास फेर्न नसक्ने अग्रवालले बताए ।

उनी भन्छन्,‘उताको पोलिसीमा हामीले चेन्ज गर्न सक्दैनौँ । तर उताबाट आउने तयारी मालसामानमा भन्सार बढाएमा नेपाली उद्योगले स्वास फेर्न सक्छन् । यो समस्याको सामाधान बजेटबाट हुनुपर्छ ।’

सरकारले बजेटमा यो माग सम्बोधन नगरे सानाठूला गरी नेपालका संचालित ३० भन्दा बढी फलामे उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउनसक्ने तर्फ कमला स्टिल्सका अध्यक्ष जगदिश अग्रवाल चिन्ता व्यक्त गरेका छन ।

हाल नेपालभर २ लाखदेखि ३ लाख टन वायर रडकाे कच्चा पदार्थ आयात हुँदै आएको छ । जसअन्तर्गत २ लाख ७० हजार टन वायर रड भने नेपालको बजार माग नै हुने हुलास वायर इण्डस्ट्रिजकी प्रबन्ध सञ्चालक युक्ती गोल्छा बताउँछिन् ।

उनले इण्डियाले यस्ता वस्तुको कच्चा पदार्थको निकाशी शूल्क १५ प्रतिशत बनाउँदा त्यसको असर नेपालमा पनि पर्ने र उद्योगहरू धरासायी हुने बताइन् ।

उनी भन्छिन्,‘यस्तो अवस्थामा सरकारले उद्योगहरूलाई आफू भएको महशुस गराउनुपर्छ । आफ्नो उद्योग सेफ राख्न यस्ता सामानमा सेफगार्ड ड्युटी वा एन्टीडम्पिङ ड्युटी सरकारले लगाउनुपर्छ ।’ उनले सरकारले नयाँ बजेटमार्फत फलामजन्य उद्योगहरूको लागि भारतबाट आउने फलामजन्य तयारी वस्तुको शुल्क बढाउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

सरकारले बजेटमा यो माग सम्बोधन गरेर उद्योगहरूलाई सहयाेग गर्नुपर्ने समेत गोल्छाले बताइन ।