पोखरा महानगरका मेयर आचार्य र उपमेयर गुरुङद्वारा पदभार ग्रहण, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रस्ताव

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



पोखरा, १२ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरा शहरलाई पर्यटकिय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका छन् ।

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख आचार्यले पदभार ग्रहण गर्दै पोखरा शहरलाई पर्यटकिय राजधानी घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने पहिलो निर्णय गरेका हुन् ।

आचार्यले पोखराको पहिचान झल्किने खालको स्मारक निर्माणको प्रस्ताव गर्ने दोश्रो निर्णय गरेका छन् । यसका लागि उनले देश्व्यापी प्रस्ताव आव्हान गर्ने र उत्कृष्ठ ठहर गरिएको प्रस्तावलाई पुरस्कृत गरिने बताए ।

आचार्यले महानगरमा व्यक्तिगत घटना दर्ताको कार्यलाई सहज र सर्वसुलभ बनाईने, समयमै घटना दर्ता गर्नका लागि प्रोत्साहन गर्ने तथा विपन्न नागरिकलाई वडा कार्यालयको सिफारीसमा तोकिएको पोषण भत्ता उपलव्ध गराउने निर्णय गरेका छन् ।

पोखरा सभागृहमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुखको सपथ लिएपछि मासबारस्थित पुष्पलाल पार्कमा गएर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरे । त्यसपछि उनले सडकको डिभाइडरमा वृक्षरोपण गरेर सिधै पोखरा महानगरपालिकामा गएर प्रमुखको पदभार ग्रहण गरेका थिए ।

प्रमुख आचार्य तथा उपप्रमुख मञ्जुदेवी गुरुङ महानगर पुग्दा पोखरा महानगरपालिकाका प्रमुख बलराम रिज्याल लगायतका कर्मचारीले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

उपप्रमुख गुरुङले पनि आजै पदभार ग्रहण गरेकी छन् । उनले अपांगता भएका व्यक्ति, बालबालिकालाई शिक्षामा पहुँचको कार्यक्रम संचालन गर्ने निर्णय गरेकी छन् । यस्तै उनले महिला हिंसा विरुद्धको अभियानमा पुरुषको ऐक्यवद्धता र त्यसलाई प्रभावकारी बनाउन कार्यक्रम संचालन गर्ने बताएकी छन् ।