मर्जरको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी थप्न नपाउने

-



     सफल आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १३ जेठ । मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न नपाउने भएका छन् ।पुँजी वृद्धिको नीति ल्याएर मर्जर तथा प्राप्तिका लागि दबाब सिर्जना गरेको समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको हो । मर्जर तथा प्राप्तिको बाटो रोजेका कम्पनीहरूलाई तत्कालै नयाँ कर्मचारी भर्ना नगर्न आग्रह गरेको उनले जानकारी दिए ।

उनका अनुसार यी बाहेका अन्य कम्पनीहरूलाई समेत नयाँ कर्मचारी भर्ना र शाखा कार्यालय बिस्तार नगर्न भनिएको छ । तर, ती कम्पनीहरूलाई औपचारिक रूपमा निर्देशन दिन भने बाँकी नै छ । बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो ।

समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुर्याउने निर्णय गरेको थियो । सोही बमोजिम बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउनुपर्नेछ ।

समितिले तोकेको पुँजी पुर्याउन कम्पनीहरूले मर्जर तथा प्राप्ति, हकप्रद सेयर र बोनस सेयर जारी गर्ने योजना बनाएका छन् ।एक वर्षभित्रमा नै पुँजी वृद्धि गर्नुपर्ने समितिको निर्देशनबमोजिम अहिले बीमा कम्पनीहरूमा मर्जरको लहर चलेको छ ।

हालसम्म ५ बीमा कम्पनीले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजेका छन् । ३ जीवन बीमा कम्पनीले मर्जरका जाने सहमति गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साथै, २० निर्जीवन बीमा कम्पनीमध्ये २ वटाले मर्जरसम्बन्धी सहमति गरेका छन् ।

कम्पनीहरूले एक आपसमा गरेका मर्जरसम्बन्धि सम्झौतालाई बीमा समितिले सैद्दान्तिक सहमति समेत दिइसकेको छ ।

निर्जीवन बीमा कम्पनीहरूतर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् । जीवन बीमातर्फ भने प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरको सम्झौता गरिसकेका छन् । यी कम्पनीहरूलाई समितिले औपचारिक रूपमै पत्रचार गरी कर्मचारी भर्नामा रोक लगाएको पौडेलले बताए ।