नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुग्यो

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ जेठ । नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको छ ।

चालू आवको पहिलो ८ महिनासम्ममा नेपालको अर्थतन्त्रको आकार ५ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा वागमती प्रदेशको रहेको छ । वागमतीको सबैभन्दा बढी ३६.९ प्रतिशत छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ ।