
लोमान्थाङ(मुस्ताङ), १५ जेठ। माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।
लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो । अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा १५०सडक बत्ती जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिए।
“लोमान्थाङको पर्खालभित्र र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको छ,” उनले भने, “रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज हुनुका साथै गाउँ आकर्षक बनेको छ ।” एक सय ४६ वटा काठका पोल र चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको छ । काठका पोललाई कलात्मक बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ ।
सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्ने काम केही दिनअघि मात्रै सकिएको हो । जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु ४९ लाख खर्च भएको जानकारी दिए । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए । सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको छ ।
माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



