तारा एयरको जहाज थासाङ २ को गुरुसाङवो वरपर दुर्घटनामा परेको आशंका, हेलिकाेप्टर र पैदल मार्गबाट खोजी हुँदै

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ जेठ । दुर्घटनामा परेको आशंका गरिएको तारा एयरको जहाजको खोजी कार्य प्रतिकुल मौसमको कारण प्रभावित भएपनि निरन्तर प्रयास भइरहेकाे छ ।

अहिले पोखराबाट गएको नेपाली सेना र केहि समय अगाडी जोमसोम गएको फिष्टेल एयरको हेलिकोप्टरले थासाङ गाउँपालिका २ को गुरुसाङवो वरपर चक्कर लगाउने प्रयास गरेका छन् ।

सांसद चन्द्रमोहन गौचनले थासाङ २ को नाउरीकोटस्थित गुरुसाङवो तीर्थस्थल वरपर दुर्घटना भएको आशंका गरिएको बताएका छन् । उक्त स्थान यसअघि ठूलो हिमपहिरो गएको क्षेत्रको नजिकै पर्छ ।

यसैबीच तारा एयरको आईटी डिपार्टमेन्टले सेटेलाईट फोटो लिंदा जहाज सो क्षेत्रमा दुर्घटनामा परेको कुरा आफुलाई प्राप्त भएको गौचनले बताए । उनले लेतेबाट नेपाली सेना, एपिएफ, नेपाल प्रहरी स्थानियकाे टोली पैदलै खोजिमा निस्किएको बताए । उनले माैसमकाे खराबिले खाेजि कार्यमा समस्या भएकाे बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान ९.५५ वजे पोखराबाट जोमसोमका लागि १९ यात्रु र चाहल दलका ३ सदस्य सहित उडेको तारा एयरको ट्वीन अटर नाईनएनएईटी विमान अन्तिम पटक जोमसोम टावरसंग १०.०७ वजे घोडेपानीमा पुग्दा सम्पर्कमा आएको जनाएको छ ।

सो विमान बिहान १०.०७ पछि सम्पर्कबिहिन भएको हो । विमानको खोजिका लागि फिस्टेल हस्पिटलको हेलिकोप्टरलाई लेते टुकुचे क्षेत्रमा पठाईएको भएपनि प्रतिकुल मौसमको कारण उद्धारमा कठिनाई भएको बताईएको छ । सो हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएर अहिले पुनः खोजिका लागि उडेको छ । यता पोखराबाट जहाजको खोजिको लागि नेपाली सेनाको हेलिकोप्टर गएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

प्राधिकरणले काठमाडौं, पोखरा र जोमसोममा उद्धारका लागि हेलिकोप्टर तयारी अवश्थामा राखेको जनाएको छ । प्रतिकुल मौसमको कारण हेलिकोप्टरबाट खोजि हुन नसकेपछि स्थानियवासि तथा सुरक्षाकर्मिको टोली स्थलगत खोजिमा गएको छ ।