संसदमा बजेटको सैद्धान्तिक छलफल आजपनि

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।

मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।

साउन १ गतेबाट लागू हुने बजेट असार भित्रै पारित गर्नेगरी संसद् सचिवालयले छलफलको तालिका बनाएको छ ।

यसअघि मंगलवार भएको प्रतिनिधि सभामा पूर्व अर्थमन्त्री, सांसद तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट नेपालको अर्थतन्त्रलाई उल्टो यात्रामा लैजाने निबन्धरूपी भएको टिप्पणी गरे थिए ।

संकटको डिलमा पुगेको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने सोच बजेटमा नदेखिएको उनले बताए ।

‘कोशी र कणाली नदीलाई जोड्ने विषय जस्ता असान्दर्भिक योजना बजेटमा समावेश भएका छन् । चतराबाट सगरमाथा र मिर्चैयाबाट लुक्ला हुँदै सगरमाथा जाने द्रूतमार्ग निजी क्षेत्रको लगानीमा बनाउने भनिएको छ । निजी क्षेत्रले सगरमाथा जाने द्रूतमार्ग बनाइदिन्छ भनेर बस्ने हो ?’ पौडेलले भने, ‘सस्तो लोकप्रियताको कुरा बजेटमा गरिएको छ ।’

उनीबाहेक अन्य सरकारमा रहेका दलहरूका सांसद र प्रतिपक्षी दल एमालेका सांसदहरूले पनि बजेटमाथि धारणा राखेका थिए ।

आज पनि सांसदहरूले बजेटमाथि आआफ्नो धारणा राख्नेछन् ।