
कुनै पनि काममा सफल हुन लगाव, धैर्य र कठोर मेहनत आवश्यक पर्दोरहेछ भन्ने उदाहरण हुन्–ध्रुव थापा । किशोरवय उमेरमै न्युन पुँजीबाट ब्यवसाय थालेका थापा अहिले एक सफल व्यवसायीका रुपमा स्थापित भएका छन्।
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालकाे २०१५ मा डिष्ट्रिक्ट गभर्नर भइ सामाजिक क्षेत्रमा समेत धेरै सेवाका कार्य गरेका उनै थापा हुन्, जो नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा दुई पटकसम्म उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि हालै अध्यक्षमा निर्वाचित भएका हुन् । मोफसलबाट नाडाको नेतृत्व सम्हाल्ने थापा पहिलो युवा व्यक्तिका रुपमा पनि परिचित छन् ।
२०२७ सालमा पोखराको मध्यम वर्गीय परिवारमा जन्मिएका थापाको व्यावसायिक यात्रा रोचक छ। मात्र ३ लाखको रिकण्डिसन हाउसदेखि अहिलेको करिब ४ सय करोड भन्दा बढिको काराेबार गर्ने व्यवसायसम्मको साढे ३ दशकको यात्राको सुरुआत कसरी भयो त ? यस बिषयमा हिमालय अर्गानाइजेसनका अध्यक्ष ध्रुव थापासँग कुराकानी गरेका छौं ।
दाइको साथ बुबाको ३ लाख
परिवारको आर्थिक अवस्था मध्यमस्तरको थियो । बुवा भारतीय प्रहरीमा जागिरे । बुबाले रिटायर्डपछि पोखरास्थित घरमै किराना पसल खोले । पसल चल्दै गयो । १४ वर्षका ध्रुवले कहिलेकाहीँ बुबालाई पसलमा सघाइदिन्थे पनि । एसएलसी सकाएपछि उनी पृथ्वीनारायण क्याम्पस, पोखरामा कानुन विषय अध्ययनका लागि भर्ना भए ।
त्याे समय राष्ट्र बैंकमा जागिरे दाइले बेलाबखत सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्ने र अरुलाई बेच्ने काम गर्थे । दाइको त्यो काममा भाइलाई पनि रस पस्दै गयो । उनले विगत सम्झँदै भने, ‘दाइले सेकेण्ड ह्याण्ड मोटरसाइकल बेचिरहनु भएको छ । यसको शोरुम नै किन नराख्ने ?’ यसबारे उनले बुबासँग प्रस्ताव राखे । तर बुवाले त्यतिखेर सहजै मानेनन् ।

दाइले भने भाइको योजनालाई साथ दिए । ‘बुवाले चाहिँ त्यस्तो चल्दैन भन्नुभयो तर दाइले हुन्छ गरेर हेर न त भन्नुभयोे,’ उनी सम्झन्छन्, ‘कलेज पढ्दै गर्दा अलिअलि गरेर हेर्न हुन्छ भन्नुभयो ।’ दाइको सहमति पाएपछि बुवालाई कन्भिन्स गर्न पनि सहज भयो । उनले बुवालाई कन्भिन्स गराएनन् मात्रै, ३ लाख रुपैयाँ लगानीका लागि रकम पनि लिए । यो २०४५-४६ सालतिरको कुरा हो । त्यसपछि उनले शोरुम नै राखे । नाम थियो–गण्डकी रिकन्डिसन सेन्टर ।
गण्डकी रिकन्डिसन मार्फत उनले सेकेण्ड ह्याण्ड मोटरसाइकलहरूको बिक्री वितरण थाले । त्यसबखत उनी केवल १७ वर्षका मात्र थिए ।आफ्नै जग्गामा शोरुम बनाएर सुरुआति दिनमा ३ वटासम्म सेकेन्ड ह्याण्ड मोटरसाइकल बिक्री गरेको उनी सम्झन्छन् । व्यवसायमा समय दिन परेपछि उनले कलेज बंक गर्नुपर्ने भयो । उनी भन्छन्, ‘बिहानी सत्रमा पछाडिका दुई पिरियड नै छोडेर आएर शोरूम खोल्थें । म प्रायः कलेज बंक गर्ने विद्यार्थीमै पर्थें ।’ प्रायः साथीहरूको समूह नै मिलेर त्यतिखेर कलेज बंक गर्ने गरेको उनी सम्झिन्छन् । तर परीक्षामा भने उनी सधैं उत्तीर्ण भएकाे सुनाए ।
अनि, पछाडि फर्किनुपरेन
व्यसायका सुरुआति दिनदेखि नै उनले राम्रो ‘बिजनेश’ पाए । केही समयपछि नै उनलाई सुजुकी मोटरसाइकलको डिलरसीपका लागि अफर आयो । नहडबडाई अगाडि बढे । २०५१ सालमा उनले गण्डकी ट्रेड हाउस सञ्चालनमा ल्याए । यसबाट सेकेण्ड ह्याण्ड चारपाङ्ग्रे गाडीको कारोबार गरे ।
अर्को वर्ष डेलिम मोटरसाइकल (कोरिया) र २०५४ मा सुजुकी टुह्वीलरको आधिकारिक क्षेत्रीय डिलरसीप सञ्चालनमा ल्याए । यसबीचमा कोरियन मोटरसाइकल बिक्री गर्न थालेपछि थापाको यात्रामा थप इँटा थपियो । प्रायः लाहुरेहरूले कोरियन मोटरसाइकल चढ्थे । त्यतिखेरै त्यो मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ आसपास थियो । थापा सम्झन्छन्, ‘त्यो समयमा नै यसको उच्च माग भयो । यसले मलाई निकै व्यस्त पनि बनायो ।’ उनको व्यावसायिक यात्रा बिस्तारै अघि बढ्दै गयो ।

मोटरसाइकलको क्षेत्रीय डिलरसीप लिएको १ वर्षमै हुलास मोटर्स नेपालको आधिकारिक क्षेत्रीय वितरक भएर शाेरूम सञ्चालन गरे । व्यापार विस्तारमा फड्को मार्दै गर्दा विभिन्न कम्पनीसँग साझेदारी बढ्दै गयाे । फलस्वरुप २०५७ सालमा स्थापना भयो अहिलेको हिमालय अर्गानाइजेसन । यही अर्गनाइजेसन अन्तर्गत उनले थप व्यापार विस्तार गर्दै आएका छन् ।
फेरी २०५९ सालमा हिमालयन इन्भेस्ट एण्ड डेभलपमेन्ट प्रालि स्थापना गरे । त्यसमार्फत रियल स्टेट, रि–फाइनान्स र बैंकिङसँग सम्बन्धित क्षेत्रहरूमा हिमालय अर्गनाइजेसनले नयाँ प्रवेश गरेको ध्रुव थापा बताउँछन् । अटोमोबाइलमा राम्रै सफलता पाएका उनले आफ्नो लगानी रियल स्टेटमा समेत बिस्तार गरे । २०६२-०६३ तिरको समयमा रियल स्टेटमा ठुलै लगानी गरेका थापाले साेचे अनुसारकाे नाफा कमाउन नसकेकाे बताए ।
१०८ रोपनी जग्गा लिएर प्लटिङ थालेकोमा त्यसबेला घरजग्गा कारोबारमा मन्दी आयो । त्यो समय उनका लागि चुनौतीपूर्ण बन्यो । त्यो परिस्थिति सम्झिदैं उनले भने, ‘धेरैले यो मान्छे अब डुब्यो भन्थे । तर, धैर्यता गुमाइनँ । मूल्य घटाएरै भए पनि जग्गा बेचें ।’ २-३ वर्षको मेहनतमा उनले पुरानै लय पक्रिए ।
सेकेन्ड ह्याण्ड मोटरसाइकल खरिदबिक्रीबाट सुरु भएको उनको व्यावसायिक यात्रा अन्य ब्राण्डेड मोटरसाइकल हुँदै गाडीसम्म फैलियो । उनले बिस्तारै गाडीको पनि डिलरसीप सुरु गरे । व्यावसायकै दौरानमा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी बढाउदै गए ।
अहिले थापाकाे अटोमोबाइल क्षेत्रका साथै पर्यटन (होटल), बैकिङ, रियलस्टेट, एजुकेशन लगायत दर्जनाै कंपनीहरूमा लगानी रहेको छ । उनले आयाम इन्टरकन्टिनेन्टल मार्फत इण्डियाकाे फोर्स मोटर्सकाे नेपालकै आधिकारिक आयातकर्ता बनेर गाडीको बिक्री समेत गरिरहेका छन् । फोर्स कंपनीकाे साे गाडी नेपाली बजारमा अहिले राम्राे माग हुने गाडीमा पर्छ ।

नयाँ उद्यमीलाई थापाकाे सन्देश
अहिलेसम्मको दौरानमा उनले हण्डर ठक्कर नखाएका होइनन् । तर ती बिस्तारै पार लगाउँदै आउनुपर्ने बानी, बाध्यता वा स्वभाव उनीसँग बलियो गरी रह्यो । नयाँ उद्यमीका लागि सानै कामबाट भए पनि आफ्नो व्यवसाय सुरु गर्नुपर्ने उनी सुझाव दिन्छन् । भन्छन्, ‘हामीहरू दक्षिण एसियामा एकैपटक ठूलो लगानीबाट सुरु गर्न खोज्छौँ । तर छ भने त गर्दा भयो । नत्र सानैबाट सुरु गर्नु भए हुन्छ । कुनै पनि काम सानो हुँदैन ।’
जसले धैर्यता देखाएर काम गर्छ, उ नै सफल हुने थापाको सुझाव छ । उनले विगतमा आफैं शोरुम सफा गर्ने, भुइँ पुछ्ने तथा मोटरसाइकल पुछ्ने काम गरेको नलजाइ स्मरण गर्छन । ‘काम सानो–ठूलो हुँदैन । नेपाल त गज्जबकाे ‘मटेरियल’ काे खानी हो । यहाँ अवसर धेरै छन्, सदुपयोग गर्न मात्रै जाने पुग्छ,’ उनको भनाइ छ ।