बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या यथावत, कस्तो छ मुलुकको आर्थिक अवस्था ?

-



     सफल आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ जेठ । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या कायमै रहेको देखिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासदेखि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या आर्थिक वर्षको अन्त्यसम्ममा पनि यथावत नै देखिएको हो।

नेपाल बैंकर संघका कार्यकारी अधिकृत अनिल शर्माले तरलताको समस्या आगामी आर्थिक वर्षमा पनि समाधान हुन नसक्ने बताए । पछिल्लो समय बैकिङ क्षेत्रमा देखिएको तरलताको समस्या चर्चामा नआए पनि सुधार भइनसकेको उनको भनाइ छ।

‘अहिले तरलता अभावको कुरा उठेको छैन, तर समस्या यथावत छ,’ उनले भने । मौद्रिक नीतिमार्फत् केही सुधार गर्न सके तरलता अभावको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ।

देशको वर्तमान आर्थिक अवस्था

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ। यसैगरी चालू आवको दश महिनामा आयात २८.० प्रतिशतले, निर्यात ५९.८ प्रतिशतले र कूल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको भन्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.२ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.६ प्रतिशतले घटेको छ। यसैगरी चालू आवको १० महिनाको सोधान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ।

कूल विदेशी विनिमय सञ्चिती ९ अर्ब २८ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ९०८ अर्ब ८६ करोड र राजस्व परिचालन ८६५ अर्ब ७० करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ३.८ प्रतिशतले बढेको छ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले  बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

कर्जा निक्षेप अनुपात

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरूको कर्जा तथा श्रोत परिचालन अनुपात खारेज गरेर सिडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेको छ। 

मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सिडी रेसियो चालू आवको अन्त्य (असार मसान्त)सम्म ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ। हाल समग्र बैकिङ क्षेत्रको यस्तो रेसियो ८९.९८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।