सामाजिक सेवाको क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण- राष्ट्रपति भण्डारी

-



     सफल आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपदका क्षेत्रमा नेपालका लायन्स क्लबहरुले गरेको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन बताएकी छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब्स इन्टरनेसनल ३२५ ए १ ले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले यो कुरा बताउदै क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गरिन्। “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, बालगृहलगायतको निर्माण र सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।”

कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका रहेकाे उनकाे भनाइ थियाे । राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पुरयाउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताइन । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई समेत अभिनन्दन गरेको थियो ।

कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । सो अवसरमा नेपाली लायन्सका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गरिन्।

कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन । आयोजक ३२५ ए १ का गभर्नर रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताए। नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लबको स्थापना भएको थियो । कार्यक्रममा लायन्स अन्तरास्ट्रियका LCIF एरिया लिडर, लायन बालकृष्ण बुर्लाकोटि, काउन्सिल चेयरपर्सन लायन मन रोका लगायतले समेत बोलेका थिए ।

अहिले नेपालमा करिब २ हजार भन्दा बढी लायन्स क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबहरुको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । यस्ता क्लबहरुले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।