वाणिज्य बैंकहरूले असारमा निक्षेपको ब्याजदर नबढाउने

-



     सफल आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० जेठ । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन । यस बिषयमा वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सहमति नै गरिसकेकाे स्राेतले बताएकाे छ ।

नेपाल बैंकर्स संघको सहमती अनुसार वाणिज्य बैंकले एक वर्षको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरूले दिनेछन् । विदेशबाट रेमिट्यान्स पठाउनेले भने अहिलेजस्तै १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

‘असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको छ,असार महिनामा सरकारको खर्च बढ्ने हुँदा निक्षेप बढ्ने अनुमान छ,’एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर यथावत रहने भएको छ ।
बैंकहरूले माघदेखि निक्षेपमा ब्याजदर बढाएका छैनन् ।

माघदेखि रिन्यु गर्दा तथा नयाँ निक्षेपको ब्याजदर बढेको हुँदा बैंकहरूको बेसरेट भने असारमा बढेर आउनेछ । जसले गर्दा कर्जाको ब्याजदर बढ्नेछ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ वैशाखमा ६.८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ ।

२०७९ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.२५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः ४.८१ प्रतिशत र ८.५३ प्रतिशत रहेका थिए ।