
काठमाडौं, ३० जेठ । माटो विनाश भइरहेको स्थितिबारे जानकारी फैलाउन र माटो जोगाउन सबै नेपालीमा सन्देश पुऱ्याउने उद्देश्यसहित माटो जोगाऔँ अभियानका स्वयंसेवक यम बहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौँबाट देशव्यापी दौड शुरु गरेका छन् ।
पुनले सातवटै प्रदेश छुने गरी ३ हजार ५०० कि.मी. दुरीको देशव्यापी दौड गर्ने निर्णय गरेका हुन् । काठमाडौँको टुँडिखेलबाट शुरु भएको दौडलाई नेपाल फुटबल टिमका पूर्व कप्तान हरि खड्काले राष्ट्रिय झण्डा तथा माटो जोगाऔँ चित्रित झण्डा फहराएर उद्घाटन गरेका थिए ।
पुनले ६० देखि ७० दिनभित्र दौड पूरा गर्ने लक्ष्य लिएका छन् । काठमाडौँबाट शुरु भएको दौड तराई हुँदै पुर्वी सिमा पुग्नेछ । त्यसपछि उत्तरतर्फ अघि बढी पश्चिम सिमाना हुँदै दक्षिणतर्फ गई फेरि काठमाडौं आएर टुङ्गिनेछ । दौडको क्रममा देशका विभिन्न ठूला, साना तथा महत्त्वपूर्ण स्थान जस्तै चितवन, हेटौँडा, वीरगञ्ज, जनकपुर, विराटनगर, दमक, फिदिम, दिक्तेल बजार, पोखरा, कुश्मा-पर्वत, हटिया-बाग्लुङ्ग, सुर्खेत, पञ्चदेवल-अछाम, कञ्चनपुर, दाङ्ग, लुम्बिनी, बुटवललगायतका स्थानहरूमा कार्यक्रम गरी माटोको विनाशबारे जनचेतना फैलाउने र आम मानिसहरूलाई माटो जोगाउनको लागि जागरूक हुन प्रेरित गरिनेछ ।

“माटो जोगाऔँ” अभियान सदगुरुद्वारा सुरु गरिएको विश्वव्यापी अभियान हो । जसअन्तर्गत हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गरिनेछ । विश्वव्यापी “माटो जोगाऔँ” अभियानको लागि सदगुरुले गत मार्च २१ मा लण्डनबाट ३० हजार कि.मि. को एकल मोटरसाइकल यात्रा सुरु गरेका थिए। सोही यात्राबाट प्रेरित भई माटो जोगाऔँ अभियानका स्वयंसेवक पुनले नेपालमा ३ हजार ५०० कि.मी. दौड गर्ने निर्णय गरेका हुन् ।

यात्राको क्रममा पुनले विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ । जस्तै कि प्रतिकूल मौसम, मनसुनको वर्षात, सम्भावित प्राकृतिक प्रकोप तथा जङ्गली जनावरको आक्रमण हुने जोखिम । तथापी, हाल माटोको अवस्था निकै भयावह रहेको अनि यसलाई जोगाउन हामी सबै एकजुट भई अघि बढ्नुपर्ने सन्देश फैलाउने उद्देश्य बोकी पुनले दौड पूरा गर्ने सङ्कल्प लिएका छन् ।
संविधान सभाका पूर्व सदस्य डि.बि परियार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलगायत उपस्थित भएर पुनलाई शुभकामना दिएका थिए । त्यसैगरी, अल्ट्रा मेरेथन धावक शेर बहादुर थारु, पुष्पलाल श्रेष्ठ, संयोगराज गुरुङ्ग, महेन्द्रमान सिंह, र माटो जोगाऔँ अभियानका स्वयंसेवकहरू संसार पलान्चोके, राजा कार्की, सन्देश अधिकारी, कुबेर साउद, शिवान्स कर्णले नागढुङ्गासम्म दौडेर पुनलाई साथ दिएका थिए ।

माटो जोगाऔँ अभियानलाई समर्थन गर्नको लागि नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आइरहेका छन् । आफूलाई भू-मित्र भन्न रुचाउने समर्थकहरूले “माटो जोगाऔँ ! अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ” जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।
उनीहरूले सडक नाटक, साङ्गीतिक कार्यक्रमदेखि विद्यालय, सङ्घ−संस्थाहरूमा गएर जनचेतना फैलाउने कार्यहरूसमेत गरिरहेका छन् । हालसम्म ३० वटाभन्दा बढी विद्यालय र ११ वटा सङ्घ−संस्थाहरूमा यस्ता कार्यक्रमहरु आयोजना भइसकेका छन् । त्यसैगरी, ६ हजार भन्दा बढी विद्यार्थीहरूले आफू माटोको दयनीय अवस्थाप्रति चिन्तित रहेको कुरा व्यक्त गरी माटोलाई पहिल्यैको अवस्थामा फर्काउन र माटो सुरक्षित राख्ने नीतिहरू लागू गर्न आग्रह गर्दै राष्ट्रप्रमुखलाई चिठ्ठी लेखिसकेका छन्। यो क्रम अझै जारी छ ।






काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण… 



