नियम विपरित कर्जाको ब्याजदर नबढाउन बैंकका सीईओहरूलाई राष्ट्र बैंकले दियाे निर्देशन

-



     सफल आवाज    
     असार १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई बोलाएर नियम विपरित कर्जाको ब्याजदर नबढाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट, सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल, विदेशी बिनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीले २७ वटा वाणिज्य बैंकका सीईओलाई बोलाएर कम्प्लाइन्स कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले बैंकका सीईओलाई असार मसान्तसम्म सिडी रेसियोको सीमा ९० प्रतिशतमा झार्न र त्यसमा कुनैपनि संसोधन नहुने भन्दै नियम कार्यान्वयन गर्न भनेको छ ।

यसबाहेक राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपको रुपमा देखाउन पाइने व्यवस्था असारसम्मको लागि मात्र लागू हुने हुँदा सो अनुसारको व्यवस्था कार्यान्वयन गर्न भनेको छ । राष्ट्र बैंकले नाफा देखाउने गरेर मात्र ब्यालेन्ससिट नबनाउन भनेको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका निर्देशक सतेन्द्र तिमिल्सिनाले राष्ट्र बैंकको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको तथ्यांकको बारेमा जानकारी गराएका थिए । उनको कार्यपत्रमा बैंकहरुले निक्षेपभन्दा बढी कर्जा दिएको तथा प्रणालीगत जोखिम निम्ताएको विषय उल्लेख थियो ।

यसबाहेक राष्ट्र बैंकले ग्राहकलाई कर्जाको ब्याजदरमा अनावश्यक शुल्क नथप्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सेवा शुल्कदेखि विभिन्न विषयमा निर्देशन लगाएपनि बैंकहरुले लुपहोल खोज्दै कर्जाको ब्याजदर बढाउने काम गरेका छन् ।

राष्ट्र बैंकले असार मसान्तपछि कार्यान्वयन गर्ने नीतिहरुको बारेमा जानकारी गराएको बैठकमा सहभागी एक सीईओले जानकारी दिए ।

राष्ट्र बैंकले अहिले सीडी रेसियो ९० प्रतिशत माथि १५ वटा बैंकको भएको तथा जसमा ७ वटा बैंकको ९२ प्रतिशतभन्दा बढी रहेको जानकारी गराएको थियो । यसबाहेक प्रोभिजनको व्यवस्थाले पुँजीकोष अनुपातमा दवाव पर्ने समेत राष्ट्र बैंकले बैंकरलाई जानकारी गराएको थियो ।