सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

-



     सफल आवाज    
     असार १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बुधबार बजेट सार्वजनिक गर्दैछन् । प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२)मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

२०७४ सालमा निर्वाचित प्रदेश सभाका सदस्यको कार्यकालको यो अन्तिम वर्ष हो र ती जनप्रतिनिधिबाट बनेको प्रदेश सरकारको अन्तिम बजेट हो ।

आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेका प्रदेश सरकारले कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्ने तयारी गरेका छन् । आफ्नो कार्यकालमा शुरू भएका योजनालाई सम्पन्न गर्नेदेखि नागरिकको सेवा र सुविधामा सुधार ल्याउने गरी केही कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी छ ।