कर्जा असुली गर्न भन्दै बीमा कम्पनीहरूलाई समितिले दियाे यस्ताे निर्देशन

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असार । बीमा कम्पनीहरूले अभिकर्तालाई दिएको कर्जा असारभित्रै असुली गर्न बीमा समितिले निर्देशन दिएको छ । यसअघि कर्जा असुली गर्ने मामलामा लचिलो बनेको समिति अब भने तोकिएको समयमै असुली गर्ने निर्णयमा पुगेको हो ।

समितिले जीवन बीमा कम्पनीलाई अभिकर्ताहरूलाई वितरण गरिएको सम्पूर्ण नगद कर्जा २०७९ असार मसान्तभित्र फरफारक गर्न निर्देशन दिएको छ ।

तोकिएको समयमा कर्जा असुली गर्न नसक्ने कम्पनीहरूले साे रकम प्रोभिजन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

कम्पनीहरूको वित्तीय विवरणमा उठ्न बाँकी रहेको कर्जा प्रोभिजन शीर्षकमा राख्ने व्यवस्था गरिने उनको भनाइ छ । यदी असार मसान्तसम्ममा पनि कर्जा असुली नभए कम्पनीहरूलाई अन्य कारबाही भने समितिले नगर्ने बताइएको छ ।

यसयघि कर्जा असुलीमा पटक पटक समय थप गर्दै आएको समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै बारम्बार ताकेता दिन थालेपछि कम्पनीहरूलाई पुनः यस्तो निर्देशन दिएको थियो ।

समितिकाअनुसार यही असार मसान्तसम्को अवधिमा आफुले वितरण गरेको सम्पूर्ण नगद कर्जा असुल गरी सोको जानकारी दिनुपर्नेछ ।

यसअघि समितिले जीवन बीमा कम्पनीहरूलाई बीमा अभिकर्ताहरूलाई वितरण गर्दै आएको कर्जा तथा सापटी २०७८ साल असार मसान्तभित्र फरफारक गर्नु भनि निर्देशन दिएको थियो ।

समितिले गत बैशाख २ गते पत्र लेख्दै अभिकर्ताहरूले लिएको ऋण असार मसान्तभित्र असुली गरिसक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

तर, अभिकर्ता र बीमा कम्पनीहरूले वैशाख २ गते अघि प्रवाह गरिएको ऋण तत्काल उठाउन नसकिने भन्दै समितिलाई समय थप गरिदिन आग्रह गरेका थिए । कम्पनी र अभिकर्ताको आग्रह अनुसार समितिले त्यस्तो ऋण तिर्ने अवधि थप गरी सहजीकरण गरिदिएको थियो ।