सरकारकाे विकास खर्च निराशाजनक, ११ महिनामा साढे ६३ प्रतिशतमात्रै बजेट खर्च

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं,२ असार। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले करिब साढे ६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

चालु आवको २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशाजनक छ ।
११ महिनाको अवधिमा सरकारको विकास खर्च ३६.४९ प्रतिशत मात्र छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते मंगलबारसम्म सरकारले ३६.४९ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल भएको छ ।

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो ।

प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री शर्माले चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए।

जसमध्ये ११ महिनाको अवधि अर्थात जेठ मसान्तसम्म सरकारले १० खर्ब ३५ अर्ब ६० करोड ७७ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

यसअवधिमा सरकारले चालूतर्फ ८ खर्ब १४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ, पूँजीगतर्फ १ खर्ब ३७ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ८३ अर्ब १० करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ ।

यसअवधिमा सरकारको पूँजीगत खर्च ३६.४९, चालूतर्फ ७६.४६ र वित्तीय व्यवस्थापनतर्फ ४३.८७ प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा जेठ मसान्तसम्ममा ९ खर्ब ४२ अर्ब १२ करोड ५७ लाख राजश्व उठाइसकेको छ ।

यसअवधिमा कर राजस्व ८१.७ र गैरकर राजस्व ६१.७८ प्रतिशत उठेको छ। यसबीच सरकारले १३ अर्ब ८८ करोड अर्थात लक्ष्यको २३.१७ प्रतिशत वैदेशिक अनुदान प्राप्त गरेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।