जीआई वायरमा भन्सारदर बढाउने अर्थमन्त्री शर्मा उद्योगीकाे मागप्रति माैन, उद्योगीहरू आन्दोलनमा

-



     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असार । जीआई वायरमा भन्सारदर बढाएर बिबादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मा उद्योगीहरूकाे मागप्रति अझै माैन देखिएका छन । जीआई वायरको भन्सार बढाएर गल्ती गरेकाे महसुस गरेर त्यसलाई सच्याउने भन्दै समय सिमा नै ताेकेका अर्थमन्त्री जनार्दन शर्माले बजेट पास भएपछि अहिले बोली फेरेका छन् । यता उद्योगीहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन ।

शर्माले पूर्वका उद्योगीसँग २७ गते जेठमा जीआई वायर, घ्यु, तेल तथा स्यानेटरी प्याडमा भन्सार बढाएर गल्ती गरेको र संसदबाट बजेट पास हुनेबित्तिकै सच्याउने प्रतिबद्धता जनाएका थिए । तर, अहिले अर्थमन्त्री शर्माले त्रुटि सच्याउनुको साट्टो उनैद्वारा संरक्षित उद्योगसँग मिलेर अघि बढ्न आग्रह गर्न थालेका छन् । उता उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।  आज माेरङमा बिभिन्न बिराेधका कार्यक्रमहरू भएका छन ।

अर्थमन्त्री शर्माकाे हर्कतकाे बिरूद्द् आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिएका छन ।  प्याकुरेलका अनुसार अब यो अर्थमन्त्रीबाट देश चल्दैन भनेर आफूहरु आन्दोलनमा उत्रिएको हो । ‘त्रुटि भयो, सच्याउँछु भनेर गल्ती महसुस गर्नु भएको हो, तर बाेले अनुसार गर्नु भएन । 

यसअघि मर्कामा परेका व्यवसायीलाई भेट समेत नदिएका अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा भेटेका थिए । प्रधानमन्त्रीले व्यवसायीको माग सुन्न र जीआई वायरको भन्सार पुरानै अवस्थामा फर्काउन निर्देशन दिएका थिए । तर, अहिले अर्थमन्त्री शर्मा संरक्षित उद्योगकै पक्षमा उभिएपछि पूर्वका व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको सारडा ग्रुपका डाइरेक्टर साैरभ सारडाले सफल आवाजलाई बताए । 

जीआई वायर उद्योगलाई चाहिने कच्चा पदार्थ एमएस आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको र स्वदेशी उद्योग बचाउन थप सहुलियतको आवश्यकता रहेको भन्दै व्यवसायीले सरकारलाई पहिले नै जानकारी गराएका थिए ।

तर, सरकारले नै त्यस्ता वस्तुको कच्चा पदार्थ आयात गर्दा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर १० प्रतिशत पुर्याएको र अन्तःशुल्क पनि २५ सयबाट बढाएर ४५ सय प्रतिटन पुर्याएको प्रतिआपत्ति जनाएका छन् ।