किन रोकियो नबिल र बंगलादेश बैंक मर्जरको स्वीकृति ?

-



     सफल आवाज    
     असार १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असार । नबिल र बंगलादेश बैंकबीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो ।

‘समान दुई बैंक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति रोकिएको छ ।’

मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरूले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।

यता नेपाल बंगलादेश बैंकका कर्मचारीहरूले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्याय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

नबिल बैंकका असन्तुष्ट कर्मचारीहरू बीचको विवाद राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र नियमन विभाग पुगेको थियो । त्यहाँ पनि समस्या नसुल्झिएपछि बुधबार दुवै पक्षलाई बोलाएर गर्भनर महाप्रसाद अधिकारीले छलफल गरेको र विवाद समाधान गरेर आउन भनेको राष्ट्र बैंक स्रोतले बतायो ।

दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार शुरूआतमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो ।