
काठमाडाैं, १० असार । ईशा फाउण्डेशनका संस्थापक सद्गुरुको १०० दिने एकल मोटरसाइकल यात्रा २७ राष्ट्रहरू र भारतका ९ राज्यहरू हुँदै ३०,००० कि.मी. पूरा गरी तमिलनाडुस्थित ईशा योग केन्द्रमा रहेको भव्य आदियोगीको प्राङ्गणमा २१ जुनको रातमा समापन भयाे ।
हजारौँको सङ्ख्यामा उपस्थित स्वयंसेवकहरूद्वारा साँस्कृतिक प्रस्तुतिहरू र विशेष आरतिको माध्यमले सद्गुरुलाई पारम्परिक तरिकाले स्वागत गरिएको थियो । विश्वव्यापी स्तरमा शुरु गरिएको माटो जोगाऔँ अभियानको क्रममा पछिल्लो तीन महिनामा ३.२ अर्ब मानिसहरूले माटोको बारेमा आवाज उठाएका छन् ।
यात्राको क्रममा ६ सयभन्दा बढी कार्यक्रमहरूमा समेत सहभागी भई पूरा गरिएको १०० दिने जोखिमयुक्त मोटरसाइकल यात्राको चुनौतीतर्फ इङ्गित गर्दै, माटो जोगाऔँ अभियानको आगामी चरणबारे सद्गुरुले भन्नुभयो कि “जोखिमयुक्त यात्रा समापन भएको छ, तर वास्तविक कठिन काम अब शुरु हुन्छ ।”
माटोलाई जोगाउन र पुन: जीवित बनाउनेतर्फ नीतिगत कार्यहरूलाई मूर्तरूप दिन आह्वान गर्दै सद्गुरुले बेलायत, संयुक्त राज्य अमेरिकालगायत दक्षिण अमेरिकी तथा क्यारेबियन राष्ट्रहरू गरी २० भन्दा बढी राष्ट्रहरूमा यात्रा गर्नुहुने छ । माटो जोगाउनको लागि विश्वस्तरमा तत्काल केही सकरात्मक कदमहरू चालिने कुरामा विश्वस्त हुँदै सद्गुरुले बताउनुभयो, “थुप्रै राष्ट्रहरूलाई, लगभग १२ देखि १८ महिनाभित्र माटोलाई पुन: जीवित बनाउनेतर्फ कुनै न कुनै किसिमको नीति बनाउन प्रेरित गर्न सक्छौँ ।“

उक्त अभियानको मुख्य उद्धेश्य भनेको माटोलाई पुन: जीवित गर्नको लागि माटोसम्बन्धी राष्ट्रिय नीतिहरूलाई परिवर्तन गरी यो सुनिश्चित गर्ने कि खेतीयोग्य जमिनमा कम्तीमा ३-६ प्रतिशत जैविक तत्त्व कायम रहनुपर्छ । यस्तो नीतिगत परिवर्तनको लागि जनताको आवाज निकै महत्त्वपूर्ण हुने भएकोले, सद्गुरुले सबैलाई अबको एक बर्षसम्म माटोको बारेमा निरन्तर आवाज उठाइरहन अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “यात्रासँगै आफ्नो आवाज बन्द गर्ने नभई पूरै विश्वलाई, कोही नयाँ व्यक्तिलाई यसबारे जानकार गराउन हरेक दिन कम्तीमा १० मिनेट समय माटोबारे केही बोल्नुहोस् ।“
विश्वभरि ५० प्रतिशत खेतीयोग्य जमिन विनाश भई उब्जनीको लागि अयोग्य भएको भयावह स्थितिमा, सो अभियानले विश्वभरिका राष्ट्रहरूलाई खेतीयोग्य जमिन जोगाउनको लागि तत्काल नीतिगत सुधार गर्न आह्वान गरेको छ । उक्त विश्वव्यापी अभियानको उद्देश्य भनेको विश्वभरिका राष्ट्रहरूलाई आफ्नो खेतीयोग्य माटोमा ३-६ प्रतिशत जैविक तत्त्व सुनिश्चत गर्न जोड दिनु हो । माटोलाई उर्वर र उब्जाउ−योग्य राखिरहन र यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि माटोमा न्यूनतम ३-६ प्रतिशत जैविक तत्त्व हुनुपर्दछ ।
विश्वस्तरमै माटोलाई विनाश हुनबाट जोगाउनको लागि माटो जोगाऔँ अभियानअन्तर्गत सद्गुरुद्वारा थालनी गरिएको यात्रा २१ मार्चमा लण्डनमा शुरु भई यूरोप, मध्य-एशिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा पुगेको थियो । सद्गुरुले गत मेइ महिनामा आइभोरी कोस्टमा आयोजित यूएनसीसीडी कप १५ (UNCCD’s COP 15) को सम्मेलनमा १९७ राष्ट्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्नुभएको थियो ।
सोही महिना सद्गुरुले डाभोसमा रहेको विश्व आर्थिक मञ्च (WEF) मा समेत बोल्नुभएको थियो । यी दुवै सम्मेलनहरूमा, सद्गुरुले राजनीतिक, व्यापारिक र सांस्कृतिक क्षेत्रका नेतृत्वकर्ताहरूलाई सम्बोधन गरी धरतीमा द्रुत गतिमा भइरहेको मरुभूमिकरण रोक्नेतर्फ तत्काल केही निर्णायक नीतिगत पाइलाहरू चाल्न आग्रह गर्नुभएको थियो ।

हाल जुन दरमा माटो खराब भइरहेको छ, त्यसलाई मध्यनजर गरी यूएनसीसीडीले यो अनुमान गरेको छ कि सन् २०५० सम्म पृथ्वीको ९० प्रतिशत भूमि मरुभूमिमा परिणत हुन सक्छ— जुन अबको तीन दशकभन्दा कम समयमै हुन सक्छ ।
हालसम्म, ७४ राष्ट्रहरूले माटोलाई विनाश हुनबाट जोगाउने सङ्कल्प गरिसकेका छन्, अनि भारतका ९ वटा राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि ईशा आउटरिचसँग सम्झौता ज्ञापनपत्रमा (MOU) हस्ताक्षर गरिसकेका छन् । ती राज्यहरू गुजरात, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, तेलङ्गाना, आन्ध्र प्रदेश र कर्नाटक हुन् ।
५ जुन, विश्व वातावरण दिवसको अवसरमा दिल्लीमा सद्गुरुले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग भेट गरी सो अभियानलाई केन्द्र सरकारबाट समर्थन गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले माटो जोगाऔँ अभियानको प्रशंसा गर्दै उक्त अभियानलाई सरकारको तर्फबाट पूर्ण सहयोग प्राप्त हुने आश्वासन दिनुभएको थियो ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



