जोखिम बिना कुनैपनि ठूलो परिणाम प्राप्त गर्न सकिंदैन । मानिसको जिवन नै जोखिम मोल्नको लागि हाे भन्दा फरक नपर्ला । जन्मने बित्तिकै उसले बिभिन्न पल, बिभिन्न चरणहरुमा जोखिम लिनुपर्छ । मानिसले आफूले चाहेको लक्ष्य प्राप्ति गर्नको लागि जोखिम नलिईकन सम्भव हुदैन ।
भनिन्छ, मानिसले जिवनमा जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम हो किनभने जोखिम लिन नचाहने मानिसले धेरै सुन्दर मौकाहरू गुमाउछ । जसको कारणले गर्दा उ सफलता प्राप्त गर्नबाट बिमुख हुन्छ जसले गर्दा जोखिम नलिनु नै उसको लागि ठुलो जोखिम बन्न पुग्छ ।
एकजना सज्जन समाजसेवी आफ्नो सहयोगीसँग घुम्दै एउटा गाँउमा पुगेर एकजना किसानको घरमा बास बस्छ पुग्छन् । किसानको प्रशस्त खेतपनि बाँझै थियाे । उनिहरुको कमाईको श्रोतको रुपमा एउटा गाईमात्र थियो । किसानले उनिहरुलाई बडो आदर गरेर खानाको साथमा गाईको मिठो दुध पिलाउछन् । किसानको सबै दिनचर्या नियालेको सज्जनले बिहान किसान उठ्नुभन्दा पहिला नै उसको एकमात्र कमाईको श्रोत गाईलाई फूकालेर आफूसँग लैजान्छन् । त्यो देखेर सहयोगीलाई समाजसेवीको काम ठिक लाग्दैन ।
उनिहरुलाई त्यति आदर सत्कार गरेको किसानको आम्दानीको मुख्य श्रोत नै चोरेर लगिदिंदा उक्त किसानलाई कस्तो असर पार्ला भन्ने उनको चिन्ता सुनेपछि समाजसेवीले यसबाट किसानलाई फाईदा नै हुने जवाफ दिएपछि सहयोगी पनि चुप लाग्छन् ।
केहि बर्षपछि सहयोगीलाई किसानको गाई चोरेर आफूले पाप गरेजस्तो लाग्छ र उनि माफि माग्न किसानको घर पुग्छन् तर, त्यहा पुगेपछि उनि दंग पर्छन् । जताततै हरियाली, फलफूल तथा तरकारीहरु तथा कृषि फर्म देखेर उसलाई त्यो त्यहि पहिलाको बाँझो र सुख्खा जग्गा हो भन्ने पत्याउनै मुश्किल पर्छ ।
यो कसरी सम्भव भयो भनेर सोध्दा किसानले भन्छन् – एकदिन मेरो गाई अचानक हरायो । गाई हुदासम्म मैले कसरी जिन्दगी गुजारा गर्ने भनेर कहिल्यै सोचिन, किनभने गाईको दुध बेचेर हाम्रो जिविका राम्रोसंगै चलिरहेको थियो । तर गाई नभएपछि हामी परिवार मिलेर यस जग्गामा खेतीमा मेहनत गर्यौं । ईनार खन्यौं र आखिरमा हाम्रो मेहनत सफल भयो । राम्रोसँग फल लागेपछि वरपरका जग्गाहरु पनि भाडामा लिएर खेति गर्यौं र बिस्तारै हामी गाउँकै ठूलो कृषक बन्न सफल भएकाे किसानले सुनायाे ।
याे कथाको किसानजस्तै अधिकांश मानिसहरु आफूसँग श्रोत, साधन र क्षमता हुँदापनि थप कोशिस नगरी यथास्थितिमा जिवन गुजारा गरिरहेका हुन्छ्न् । उनिहरुको मुखमा चलिरहेकै छ, दिन बितिरहेकै छ भन्ने शब्द झुण्डिरहेको हुन्छ । किसानले पनि यस्तै सोंचेर थप कोशिस गरिरहेको थिएन तर, गाई हराएपछि बल्ल उसको घैंटोमा घाम लाग्छ र जिविका चलाउनको लागि खेतिपातिमा ध्यान लगाउंछ । मानिसले जहिलेपनि यथास्थितीमा नबसिकन सम्भावनाहरुको खोजि गरिरहनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ ।
परेपछि गरिन्छ भन्ने सोंचले पनि मानिसलाई थप जोखिम नलिईकन आरामदायिक हिसाबले जिवन बिताईरहेका हुन्छन् । नेपाल जस्तो देशमा त झन् आफैले कमाएर आत्मनिर्भर जिवन बिताउनेहरु भन्दा परिवारका अन्य सदस्यहरुले कमाईरहेका छन् नि किन दुख गर्नु भन्ने भावनाले गर्दा अधिंकाश मानिसहरु एकदमै निष्क्रिय जिवन बिताईरहेको पाईन्छ । परेपछि गरिन्छ भन्ने सोंचमा परिवर्तन ल्याउनु जरुरी छ, त्यस्तो पर्नुभन्दा पहिला नै आफूले काम गर्न थाल्यो भने मानिसले परेको समस्यालाई सजिलै समाधान गर्न सक्छ । परेपछि गरौंला भन्नु जाँच आउनेबेलामा मात्र पढुँला भनेजस्तो हो । जसबाट राम्रो नतिजाको अपेक्षा गर्न सकिंदैन ।
एकजना बृद्ध मानिस आफ्नो नातिलाई लिएर आफ्नो पुर्ख्याैली घरमा जान्छन् । घरभित्र एउटा र घरबाहिर एउटा रुख रोपेर फर्कन्छन् । बाटोमा नातिलाई ति दुई रुखहरुमध्ये कुन रुख राम्रोसंग हुर्कन्छ भनेर सोध्दा नातिले घरभित्रको रुखले असिना पानी, हावाहुरीले केहि पनि नगर्ने भएकोले उसलाई जोखिम हुँदैन त्यसैले घरभित्रको रुख राम्रोसँग हुर्कन्छ भन्छ । बृद्ध मानिसले नातिलाई अर्काेबर्ष पनि पुर्ख्याैली घर लगेर दुबै रुख देखाउछन् । नाति आफूले सोंचेभन्दा ठिक उल्टो बाहिरको रुख निक्कै राम्रोसंग हुर्केको र भित्रको रुख हुर्कन नसकेको देखेर छक्क पर्छ ।
नातिलाई छक्क परेको देखेर बृद्ध मानिसले नातिलाई भन्छ- हेर बाबु, सफल त्यहि हुन्छ जसले जोखिम लिन सक्छ, सानो गिलासमा थोरै मात्र दुध अटाउछ, यदि धेरै दुध भर्नुछ भने गिलास पनि ठुलै लिनुपर्छ । बाहिरको रुखलाई फैलनको लागि जति पनि ठाँउ थियो, उसले आफ्नो जरा फैलाउनको लागि स्वतन्त्र थियो ।
उ असिना पानी, हावा हुरीसँग जुधेर भित्रैदेखि मजबुत भएको थियो । तर यसको ठिक बिपरित भित्रको रुखलाइ जरा फैलाउनको लागि र बढ्नको लागि पनि सिमित ठाउ थियो र जोखिम बिनाको जिन्दगीले उ शारिरिक रुपमा पनि कमजोर भईसकेको थियो । माथिको दुई रुखको कथाले मानिसले जोखिम बिनाको यथास्थितीमा रमाउन थाल्यो भने यथोचित प्रगति गर्न सक्दैन भन्ने सन्देश दिएको छ ।
डब्लुडब्लुईका सुपरस्टार ब्रक लेश्नरले भनेका छन् , जोखिमहरु धेरै प्रकारका हुन्छन् र जोखिम बिना पुरस्कार प्राप्त हुंदैन । मेरो बिचारमा पुरस्कार जोखिमभन्दा ठुलो हुन्छ । ब्रक लेश्नरको जोखिम लिने बानिले गर्दा २००२ मा डब्लुडब्लुईमा करियर शुरु गरेको ५ महिनामा नै बिश्व च्याम्पियन बन्न सफल भएर संसारकै सबैभन्दा कान्छो बिश्व च्याम्पियन बन्न सफल भएका थिए ।
मानिसको जिवन त्यसैपनि छोटो हुन्छ ।
उच्च शिक्षा हासिल गरेपछि आफ्नो सक्रिय करियरको लागि उसलाई थोरै समय मात्र बाँकी रहन्छ । यो छोटो समयमा पनि डराई डराई काम गर्यो भने उसले सोंचेको सफलता प्राप्त गर्न सक्दैन । जिवनमा बरु गल्ति गर्नु, गल्तिबाट सिक्नु तर डराउनु हुंदैन । गहिराईसंग डराउने मानिसले कहिल्यै पनि पौडन जान्दैन, लड्छ भनेर नहिंड्ने मानिस कहिल्यै दौडन जान्दैन ।
पूराना अमेरिकी मोटिभेटर डेनिस बाईटलेले एउटा सपना एउटा तपांईको जिवनको एउटा रचनात्मक दृष्टि हो, यसको लागि तपांईले आफ्नो जोखिम बिनाको यथास्थितिको क्षेत्रबाट हटेर अपरिचित, अज्ञात क्षेत्रसंग घुलमिल भएर त्यससंग सहज हुन सिक्नुपर्छ भनेर मानिसहरुलाई यथास्थितीको जोखिम बिनाको आरामदायि जिवनबाट हटेर जोखिम लिएर नयां परिस्थिती, नयां बातावरणसंग जुधेर अगाडी बढ्नुपर्छ भनेका छन् ।
अब्राहम लिंकन पेशाले वकिल थिए, जीवन गुजारी रहेकै थिए, उनले यथास्थितीमा बसेका भए अमेरिकाको राष्ट्रपति भएर रंगभेद हटाउने जस्तो महान कार्य गर्न अवसर पाउने थिएनन् । ईलोन मस्कसँग स्पेस्स एक्स शुरु गर्नुभन्दा पहिला राम्रोसँग गुजारा चलाउने पैसा थियो तर, उनले सस्तो रकेट बनाउने जस्तो महान कार्य गरेर अहिले संसारकै सबैभन्दा तिक्ष्ण बुद्धिजिवि भनेर उनलाई चिनिन्छ । संसारमा सफल ब्यक्तिहरु यथास्थितिमा नबसिकन जोखिम मोल्न तयार भएको कारणले उनिहरुले ईतिहांसको पानामा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
जसरी सम्म र सोझो बाटोमा गाडि चलाउन सजिलो हुन्छ त्यसरी नै मानिसलाई जोखिम बिना जिवन चलाउन सजिलो त हुन्छ तर, संधै सम्म र सोझो बाटोमा चलाईरहेको मानिसलाई घुम्ति, उकालो र ओरालोमा चलाउन गाहेा हुन्छ। संधै अंध्यारोमा बसिरहेको मानिस उज्यालो देख्दा तर्सिन्छ। त्यसरी नै संधै जोखिमबिना जिन्दगी बिताईरहेको मानिसलाई जिन्दगीमा सानोतिनो जोखिम आउने बेत्तिकै आत्तिन्छ ।
जोखिम नलिएर यथास्थितीमा बस्नु पनि एक प्रकारको नशा जस्तै हो, किनभने उक्त मानिसलाई जोखिम नलिने नशा बसिसकेको हुन्छ । जोखिम नलिईकन यथास्थितीमा बस्नुभन्दा जोखिम लिएर पुरस्कार प्राप्त गर्ने कोशिस गर्नुपर्छ । जोखिम भन्दा पुरस्कार धेरै ठुलो हुन्छ । पुरस्कारको लागि थथास्थिती छोडेर जोखिम लिनुपर्छ ।
लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।