प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

-



     सफल आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १४ असार। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको छ । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् ।

हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ का मनबहादुर रोकायले बताए । आज बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएकाे कारण हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ । सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ । अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् ।

नियमित उडान नहुँदा यहाँका अधिकांश सर्वसाधारण हेलिकोप्टर प्रयोग पनि हुँदै आएको छ । औषधोपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ । उता डोल्पामा सडक सञ्जाल पुगे पनि स्थल मार्ग र हवाई मार्गमा बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाई मार्गतिर जोड दिने गरेका छन् । जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाज मात्र उडान भर्दै आएका छन् ।